अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउने देउवाको उद्घोष

चितवन–नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताएका छन् ।

नेपाल दलित संघ चितवनले आज आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने बताएका हुन् ।

सभापति देउवाले पछिल्लो निर्वाचनमा अन्तर्घात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन नसकेको उल्लेख गर्दै भने, ‘छिनछिनमा विचार, मनस्थिति परिवर्तन गर्नेका कारण निर्वाचनमा हार व्यहोर्नु परेको हो ।’

 देउवाले नेपालको इतिहासमा पहिलो पटक ठूला दुई वाम दल गठबन्धन गरेर र काँग्रेस एक्लै निर्वाचनमा होमिएको उल्लेख गर्दै तालमेल गर्दा पनि काँग्रेसका कार्यकर्ताहरुले भोट नहालेको बताए ।

काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने प्रश्न चिह्न खडा भएको बताउँदै “मलाई भगवान्ले बरदान माग भने पार्टीलाई एक ढिक्का वनाउन सकुँ भन्छु भने।”

वाम एकतासँग प्रतिस्पर्धा गर्ने समयमा पार्टीभित्रको तिक्तताले समस्या उत्पन्न भएको उल्लेख गर्दै नले अहिलेको समय पार्टीभित्र एकता भए मात्र वाम एकतासँग जुध्न सकिने धारणा व्यक्त गरे ।
सहमहामन्त्री डा प्रकाशशरण महतले आन्तरिक मतभेदको अन्त्य गरेर पार्टीलाई विपक्षीसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउँदै कम्युनिष्टले राष्ट्रियतालाई सत्तामा जाने भ¥याङ मात्रै बनाएको आरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजँग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?