दक्षिण कोरिया पराजित, स्वीडेनले हान्याे पेनाल्टीमा गाेल

मस्को। फिफा विश्वकप फुटबलमा स्विडेनले विजयी सुरुवात गरेको छ । 

निज्री नोवगोरोड रंगशालामा सोमबारसाँझ भएको समूह ‘एफ’ को खेलमा स्विडेनले एसियन टिम दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएको थियो । स्विडेनका लागि कप्तान आन्द्रेस ग्रानक्युभिस्टले खेलको ६५ मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । पेनाल्टीको निर्णय भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले लिइएको थियो ।

४–४–२ को फर्मेसनमा खेलाइएको खेलमा कोरियाले निर्धारित समयसम्म गोल गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।

जितपछि स्विडेनले ३ अंक बनाएको छ । अब स्विडेनले समूह चरणको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ भने कोरियाले मेक्सिकोसँग भिड्नेछ । यसअघि सम्पन्न खेलमा मेक्सिकोले जर्मनलाई १—० गोल अन्तरले हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?