कोरोना महामारीको कारण भएको लकडाउनले गर्दा नेपालका पाँचमध्ये एकभन्दा बढी परिवार खानाका लागि सङ्घर्ष गरिरहेको पाइएको छ । यसैगरी केहीले भरपेट खानाका लागि दैनिक सङ्घर्ष गर्नुपरेको र केही परिवार र उनका बालबालिकाले पहिलाको तुलनामा कम खाना खाने गरेको समेत बताएका छन् ।
कोरोना महामारीले विश्वव्यापी रूप लिएपछि यसको रोकथाम गर्न सरकारले लकडाउनलाई सबैभन्दा भरपर्दो माध्यम बनायो । लकडाउनले कोरोना सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न मदत गरे पनि यसले सामाजिक, आर्थिक, शैक्षिक, रोजगार र शिक्षाको क्षेत्रमा भने व्यापक असर गरेको हालै सार्वजनिक भएको एक सर्वेक्षणको नतिजाले सङ्केत गरेको छ ।
कोरोना महामारीको समयमा नेपालका भएको लकडाउनले नेपाली समाजमा के–कस्तो किसिमको प्रभाव परेको थियो भन्ने विषयमा युनिसेफ र शेयरकाष्ट ईनिसिएटिभले गरेको सर्वेक्षणको नतिजा हालै सार्वजनिक गरिएको हो । सन् २०२० को मे महिनादेखि हालसम्म ६ हजारभन्दा बढी घरपरिवारमा ८ चरण टेलिफोन मार्फत कोरोनाको प्रभावका विषयमा सर्वेक्षण गरेको शेयरकाष्टले जनाएको छ ।
सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै शेयरकाष्टका प्रमुख कार्यकारी अधिकृत मधु आचार्यले भने– लकडाउन वा बन्दाबन्दीले धेरै व्यक्तिले रोजगारी गुमाए, कतिको स्वास्थ्य तथा शिक्षामा भएको अवसर गुम्नाले सामाजिक तथा आर्थिक जीवनमा कठिनाइ समेत भयो । कोरोना महामारीको प्रत्यक्ष प्रभावहरूमा बालबालिकाले शिक्षा तथा पौष्टिक आहारमा पहुँच गुमाए ।
१८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारमा कोरोना महामारीले उत्पन्न गरेको अवस्थाको नियमित अनुगमन गर्न सन् २०२० को मे महिना देखि हालसम्म ६ हजार भन्दा बढी घरपरिवारमा ८ चरण टेलिफोन मार्फत सर्वेक्षण गरेको शेयरकाष्टले जनाएको छ । जुलाई २०२० मा गरिएको सर्वेक्षण अनुसार बालबालिका भएका ६० प्रतिशत घरपरिवारले आम्दानी र जीविकोपार्जनका माध्यमहरू गुमाएका थिए । सन् २०२१ नोभेम्बरसम्म आइपुग्दा गरिबीतर्फ धकेलिने जोखिम भएको परिवारको सङ्ख्या ३० प्रतिशत रहेको थियो ।
सर्वेक्षण अनुसार करिब तिनमा एक परिवार आर्थिक सहायताको खोजीमा रहेको देखियो । उनीहरूको प्रमुख आवश्यक्ताहरुमा आर्थिक सहायता, रोजगारी, खाद्यान्न र औषधि रहेको थियो । लकडाउनका कारण धेरैले आफूले बचत गरेको रकम चलाएको र सरसापट गरेर जीविकोपार्जन गरेको पाइयो भने कतिपय घरपरिवारहरू ऋणमा परेको कारण तिर्नका लागि सम्पत्ति बेचबिखन समेत गर्न बाध्य भएका थिए । पैसाको अभाव र खाद्यान्न आपूर्तिमा अवरोधका कारण पाँचमध्ये एकभन्दा बढी घरपरिवारले खानाको लागि सङ्घर्ष गरिरहेको पाइयो । सन २०२१, नोभेम्बर महिनामा गरिएको सर्वेक्षणमा २१ प्रतिशत उत्तरदाताले भर पेट खानका लागि दैनिक सङ्घर्ष गरिरहेको बताएका थिए भने सर्वेक्षणमा सहभागी ११ प्रतिशत परिवार र उनका बालबालिकाले पहिलाको तुलनामा कम खाना खाने गरेको जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया