काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज (आइतबार) उछाल आएको छ । आज सेयर बजार ३.८० प्रतिशतले बढेको छ ।
साताको पहिलो कारोबार दिन आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको छ ।
यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ बिन्दुमा पुगेको छ ।
आज कुल २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ०३८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य बढेको छ । आज विकास बैंक, फाइनान्स, लगानी समूह, हाइड्रोपावर लगायत समूहको सेयर उछाल आएको छ ।
आइतबार वीन लघुवित्त वित्तीय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिवश्री हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर, हिमालयन ऊर्जा कम्पनी प्रोगेसिभ फाइनान्स हिमाल दोलखा हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
आज कारोबारमा आएकामध्ये १९० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य घटेको छ । आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य घटेको हो ।
कारोबार रकमको आधारमा आज अपि पावर कम्पनीले अग्रता कायम गरेको छ । कम्पनीले आज २६ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया