मुलुकको शोधनान्तर स्थिति २४१ अर्ब घाटामा, रेमिट्यान्स पनि घट्यो

लोकपथ
119
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बुधबार पछिल्लो पुस मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकका अधिकांश सूचकांक नकारात्मक देखिएका छन् ।

शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा
समीक्षा अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता ३५४ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।

पुससम्ममा पुँजीगत ट्रान्सफर २० प्रतिशतले घटेर ५ अर्ब ४८ करोड कायम भएको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, विदेशी मुद्राको सञ्चिति पनि चालु आर्थिक वर्षमा निरन्तर रुपमा घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तमा १३९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११६५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई रु.१०१५ अर्ब ५९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा पुस मसान्तमा २.७ प्रतिशतले कमी आई १५० अर्ब २१ करोड रुपैयाँ कायम भएको छ ।

असार मसान्तको तुलनामा पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९४ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८७ प्रतिशतले अधिमूल्यन भएको थियो ।

मुद्रास्फीति बढ्यो

अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/८९ को पुसमा मुद्रास्फीति बढेको छ । राष्ट्र बैंकको विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

पुस महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ पुसमा यी क्षेत्रहरूमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१८ प्रतिशत रहेको थियो । गत पुस महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ ।

पुस महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ । २०७८ पुसमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.७२ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स ५.५ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो ।

२०७८ साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११.१ प्रतिशतले बढेको थियो ।

नेपाल भित्रने रेमिट्यान्स अमेरिकी डलरमा ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेको थियो ।

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

वस्तु निर्यातमा वृद्धि

आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

वस्तु आयात ५१.१ प्रतिशतले बढ्यो

पुस मसान्तसम्ममा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई ९९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयातमा भने गिरावट आएको छ ।

वस्तु व्यापार घाटामा

आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा वस्तु व्यापार घाटामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भई ८८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।

विप्रेषण आप्रवाहमा पनि गिरावट

पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेर ४६८ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १,६७,५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १,३०,२१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई रु.५२३ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?