चालू आर्थिक वर्षको ६ महिना : सेयर बजारमा २४.९८ प्रतिशतको वृद्धि

लोकपथ
56
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनासम्म नेपाली पुँजी बजारमा सुधार उलेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म २२८६.६ रहेको नेप्से परिसूचक बढेर चालू आर्थिक वर्षको पुस मसान्तमा २८५७.८ पुगेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थी वर्षको ६ महिनाको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष सेयर बजार २४.९८ प्रतिशतले बढेको छ ।

यो अवधिसम्म धितोपत्र बजार पँुजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड पुगेको छ । गत आर्थिक वर्षको सोहिअवधिमा बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रहेको थियो ।

पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २२५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४६ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्।

अघिल्लो वर्षको सोहि अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७८ पुससम्ममा सूचीकृत ६ अर्ब ५४ करोड सेयरको चुक्ता मूल्य रु. ६४४ अर्ब ४० करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनासम्ममा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ८ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ८ अर्ब १ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ८२ अर्ब ३१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब बराबर रुपैयाँको म्युचुअल फण्ड, १ अर्ब ५७ करोड रुपैयाँ बराबरको साधारण सेयर र १ अर्ब ४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?