सम्झनामा लता मंगेशकर : नेपालीसहित ३६ भाषामा ५० हजार गीत रेकर्ड, यस्तो छ जीवन संघर्ष

लोकपथ
168
Shares

काठमाडौं । भारतकी प्रख्यात गायिका लता मंगेशकरको गत आइतबार बिहान निधन भएपछि उनी हामीमाझ अब सम्झनाको रुपमा मात्र रहेकी छन् । लता मंगेशकरको भौतिक शरीर अब रहेन, तर उनको स्वर अहिले पनि लाखौं–करोडौं संगीतप्रेमीको कानमा गुन्जिरहेको छ। लतालाई भारतमा ‘स्वर कोकिला, दिदी र ताई’ जस्ता उपनामले पनि बोलाइन्थ्यो ।

लताले नेपालीसहित ३६ भाषामा ५० हजारभन्दा बढी गीत रेकर्ड गराएका छन् । १३ वर्षको हुँदा नै लताले अभिनयसँगै गीत गाउन सुरु गरेकी थिइन् । सन् १९४२ मा उनले मराठी फिल्म किटी हसलका लागि ‘नाचुँ या गडे, खेलुँ सारी मनी हौस भरी’ गीत गाएकी थिइन्। तर, अन्तिम समयमा फिल्मबाट गीत हटाइएको थियो।

त्यसपछि सन् १९४२ बनेको मराठी फिल्म पहिली मंगला-गौरमा ‘नातली चैत्राची नभलाइ’ गीत गाएकी थिइन्। त्यस्तै, सन् १९४६ मा बनेको हिन्दी फिल्म आप की सेवा मैंका लागि पहिलो हिन्दी गीत ‘पा ‘लगून का जोरी’ गाएकी थिइन्।

त्यसपछि भने उनले अन्य भाषामा पनि गीत गाउन थालिन्। उनले ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाएकी छन्। जसमा नेपाली भाषाका गीत पनि छन्।

लताले गाएको नेपाली चर्चित गीत ‘आकाशका तिरमिरे तारा’ हो। मबीबीशाहले लेखेको यो गीतमा हेमन्त कुमारले सङ्गीत भरेका थिए। यो गीत उसैको लागि(२ एल्बममा सङ्गृहीत छ।

त्यस्तै, उनले गाएको अर्को गीत ‘जुन माटोमा मेरो’ हो। मबीबीशाहले लेखेको यो गीत उनले १९६६ मा बनेको नेपाली फिल्म माइती घर का लागि गाएकी थिइन्। यसमा जयदेव बर्माले सङ्गीत दिएका थिए।

त्यस्तै लताले गाएको अर्को नेपाली गीत ‘बाचुन्जेलीलाई’ हो। आनन्द अधिकारीले लेखेको यो गीत उनले गायक रामकृष्ण ढकालसँगै गाएकी थिइन्। यसमा शिखर सन्तोषले सङ्गीत दिएका थिए।

उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । सन् १९६० देखि सन् २००० को कालखण्डमा निर्माण भएका अधिकांश चलचित्रमा लताको स्वर समावेश हुन्थ्यो । उनको स्वर विनाका चलचित्रका गीत अपूरो हुन्थे ।

उनले सन् २०१५ मा रिलिज भएको ‘डुन्नो वाय’मा अन्तिम गीत गाएकी थिइन् । लता मंगेशकर ८० वर्षसम्म गीतसंगीतमा सक्रिय रुपमा लागेकी थिइन् । सन् १९२९ सेप्टेम्बर २९ तारिखमा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले १३ सालबाटै गीत गाउन थालेकी थिइन् । लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् ।

लताको सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । उनी ‘पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के’लगायतबाट सम्मानित भएकी थिइन् । लतालाई ६१ वर्षको उमेरमा चलचित्र ‘लेकिन’बाट ‘राष्ट्रिय अवार्ड’ समेत मिलेको थियो ।

कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ । विश्वभरका उनका लाखौं फ्यानले उनको स्वास्थ्यमा सुधार आओस् भन्दै कामना गरे । तर, विश्वकै लोकप्रिय गायिकाले सरस्वती पूजाको दिनमा यो धर्तीलाई छाडेर बिदा भइन् ।

लता दुई वर्षसम्म घरबाट बाहिर निस्किएकी थिइनन् । उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग अन्तरक्रिया त गर्थिन्, तर कोरोना कहर सुरु भएपछि उनी घरभित्र आराम गरिरहेकी थिइन् । उनको घरमा काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि लतालाई ८ तारिखमा महामारीले छोएको थियो ।

कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । तर अन्तमा चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएपछि उनी हामीमाझ अब सम्झनाको रुपमा मात्रै रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?