ठेक्काको झन्डै ७ वर्ष : बाटोको अवस्था दयनीय, स्थानीयद्वारा पासाङल्हामु राजमार्ग अवरुद्ध

काठमाडौं । सडकको दुरावस्था हेर्दा तार्केश्वर नगरपालिका राजधानी काठमाडौंको एक पिछडिएको नगरपालिका भन्दा फरक नपर्ला । बालाजु बाइपासबाट मात्रै ९-१० किमि टाढा रहेको यो क्षेत्रमा सडकको अवस्था दयनीय छ ।

दैनिक सयाैँको संख्यामा काठमाडौं नगरपालिकाको फोहोरमैलाका गाडीहरु यसै बाटो भएर गुड्छन् । काठमाडौं र नुवाकोट जोड्ने यो सडकको अवस्था हेर्दा साँच्चै पिछडिएको ठाउँजस्तो आभास हुन्छ ।

पासाङल्हामु राजमार्गअन्तर्गतको यो बाटो निर्माणको जिम्मा सैलुङ कन्सट्रक्सनले पाएको झन्डै ७ वर्ष भइसकेको छ । तर समस्या भने ज्युँका त्युँ नै छ ।

विकासको नाममा विनाश र अलपत्र गर्ने ठेकदार कम्पनीको लापरबाही देख्दादेख्दै पनि कारबाही गर्न नसक्ने गैरजिम्मेवार सरोकार निकायहरुको विरोधमा स्थानीयहरुले आज काठमाडौं महानगरको फोहोर डम्पिङ र पासाङल्हामु राजमार्गमा चल्ने यातायात पूर्ण रुपले बन्द गरेका छन् ।

स्थानीयहरु पासाङल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान भन्दै सडकमा उत्रिएका छन् । साथै उनीहरुले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सडक नबनाए कुनै पनि प्रतिनिधिहरुलाई भोट नदिने भनै आक्रोश जनाएका छन् ।

‘नो रोड नो भोट’ भन्ने व्यानरसहित उनीहरु सडकमा उत्रेका छन् ।

विकासको नाममा अलपत्र मात्रै : 

पासाङल्हामु राजमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको सैलुङ कन्सट्रक्सनले झन्डै ७ वर्ष अगाडि पाएको थियो । तर सडक बढाउने भन्दै ३ ४ वर्ष सडक कालोपत्रे हुने काम भएन । अहिले ७ वर्ष बित्न लाग्दा सम्म पनि सडकको अवस्था लाजमर्दो छ ।

सैलुङ कन्सट्रक्सनले कामको सट्टा बाटोलाई अलपत्र पारेर छोडेको छ । स्थानीयहरुले यसअघि पनि विरोध नगरेका भने होइनन् । तर राजनीतिक चलखेल र आडमा रमेको सैलुङ कन्सट्रक्सनले स्थानीयको विरोध प्रदर्शनलाई हरेक पटक सामान्य रुपमा लिने गरेको छ ।

के गर्दै छ स्थानीय सरकार ?

तारकेश्वर नगरपालिका वडा नं ३ को वडा कार्यालय तिनपिप्लेमै छ । वडा कार्यालयकै अगाडि बडेमानका खाल्डा खुल्डीहरु छन् । वडा नं ३ का वडाअध्यक्ष मनोहरी तिवारी स्थानीय सरकारले सडकका विषयमा आवाज उठाइरहेको बताउँछन् ।

‘हामीले सैलुङ कन्सट्रक्सनलाई र सम्बन्धित ठेकेदार सारदा अधिकारीलाई धेरै पटक पत्राचार गरेका हौँ । तर उनीहरुले हाम्रो कुरा सुन्दै सुन्दैनन् । ठेकेदार पनि आफूले जनताहरुसँग गरेको प्रतिबद्धता पूरा गर्न नसकेका कारण यहाँ आउने गरेका छैनन्’, उनले भने ।

स्थानीयले चढ्न सार्वजनिक यातायात नै पाउँदैनन् : 

तिनपिप्लेबाट बालाजु बाइपास आउन दुईवटा  बाटोहरु छन् । एउटा पासाङल्हामु राजमार्गअन्तर्गतको रानीवनको बाटो र अर्को चिसापानी, सानोबाइपास नेपालटार हुँदै बाइपास आउने बाटाे ।

तिनपिप्लेबाट चिसापानी हुँदै आउने बाटो पनि निर्माणाधीन अवस्थामा छ । निकै लामो समय बन्द भएपछि भर्खरै यो बाटोमा सार्वजनिक यातायात सूचारु भएका छन् । तर बाटोको अवस्था निकै डर लाग्दो छ ।

रानीवनको बाटोको कुरा गर्दा तिनपिप्लेबाट रानीवन हुँदै कुनै पनि लोकल रुटका गाडी चल्दैनन् । देवीस्थान, आठमाइल, ठूलागाँउ, मुड्खुका स्थानीयलाई यातायातको कुनै व्यवस्था छैन । उनीहरु या त रानीपौवाको बस या फोहोरमैलाको गाडी चढ्न वर्षाैँदेखि बाध्य छन् ।

‘देशको राजधानीको यस्तो अवस्था देख्दा त धेरै दुःख लाग्छ । न राम्रो सडक छ न त चढ्नलाई गाडी नै छ । धेरै पटक परीक्षा दिनलाई परीक्षा सेन्टरमा जान लागेका विद्यार्थीहरुले गाडी नपाएर बाटोमै बिचल्ली भएको अवस्थामा मैले मेरो मोटरसाइकलमा उनीहरुलाई परीक्षा दिन पुर्याएको छु’, तार्केश्वर नगरपालिका वडा नं ३ को नागार्जुन ठुलागाँउ माध्यामिक विद्यालका प्रधानाध्यापक अर्जुन फुँयालले भने ।

किन गुड्दैनन् त लोकल रुटका गाडी ?

यो प्रश्नको पहिलो जवाफ हो सडक । निकै दयनीय अवस्थाका सडकका कारण कुनै पनि गाडी याे बाटो भएर गुड्न नमानेकाे बताउँछन् स्थानीयहरू  ।

यो पनि पढ्नुहोस् : फोहोर ढुवानीमा चरम लापरबाही : स्थानीय सरकार मुकदर्शक, जनस्वास्थ्यमा खेलबाड

फोहोर ढुवानीमा चरम लापरबाही : 

यही बाटोमा हुने अर्को निकै ठूलो समस्या हो फोहोर ढुवानीमा चरम लापरबाही । सरकारले गरेको प्रतिबद्धता पूरा मात्र नगरेको होइन, महानगरले फोहोर ढुवानीमा चरम लापरबाही गरेको स्पस्ट देख्न सकिन्छ ।

नियम र व्यवस्थालाई हेर्ने हो भने फोहोर ढुवानी गर्दा ढुवानी गर्ने सवारीले फोहोरको भागलाई छोपेर लैजानुपर्ने हो तर चरम लापरबाहीका कारण एकाध गाडीहरुमा मात्रै त्यस्तो भएको देखिन्छ भने बाँकी गाडीहरु यतिकै कुदेका हुन्छन् ।

यसरी सवारी गुड्दा गाडीबाट फोहोर सडकमा खस्ने गरेको छ । यसरी जथाभावी सडकमा फोहोर खसाउँदा स्थानीयहरुलाई दुर्गन्ध फैलिएर समस्या हुने गरेको छ ।

एक त खराब सडक त्यसैमाथि दिनहुँजसो गाडीहरुबाट खस्ने फोहोर र त्यसको दुर्गन्ध । यसले स्वास्थ्यमा समेत नकारात्मक असर गरेको स्थानीय सुनिल तिवारी बताउँछन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?