उरुग्वे विश्वकपको प्रि—क्वाटरफाइनमा प्रवेश, साउदी अरेबिया समूह चरणबाटै बाहिरियो

रसिया । उरुग्वे जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । 

रोस्तभ एरिनामा बुधबारराती सम्पन्न समूह ‘ए’ को खेलमा साउदी अरेबियालाई १—० गोल अन्तरले पराजित गदै उरुग्वे अन्तिम १६ मा प्रवेश गरेको हो । उरुग्वेका लागी लुईस स्वारेजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको २३ औ मिनेटमा कर्नरबाट प्रहार गरेको बललाई सदुपयोग गदै गोल गरे । 

स्वारेजले टिमको लागी १०० औ क्याप खेल्दै ५२ गोल गर्न सफल भएका छन् । सन् २०१० को विश्वकपमा डेब्यु गरेका स्वारेज २०१४ को विश्वकपमा इटलीका डिफेन्डर जर्जियो चेलिनीलाई ‘टोकेर’ विबादमा आएका थिए । फलस्वरुप उनलाई त्यतिबेला १० खेलमा प्रतिबन्ध लगाइएको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म उरुग्वे १—० गोल अन्तरले अगाडी रहेको थियो । निकै रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म साउदी अरेबियाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो ।

जितपछि ६ अंक बनाएको उरुग्वे एक खेल अगाबै प्रि—क्वाटरफाइनलमा पुगेको हो । समान ६ अंक नै जोडेको आयोजक राष्ट्र रसिया यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

अब उरुग्वेले समूह चरणको अन्तिम खेलमा आगामी सोमबार रसियासँग प्रतिस्पर्धा गर्नेछ । हारसँगै साउदी अरेबिया भने प्रतियोगिताको  समूह चरणबाटै बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?