काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा लामो समय देखि भइरहेको तालाबन्दीबारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् । छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्या तालाबन्दीबाट नहुने बताए । उनले पछिल्लो समयमा विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गरेको बताए ।
प्राध्यापक मानन्धरले भने, ‘अहिले त त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भन्दा पनि अलिकति आत्मग्लानी हुन्छ कि भन्ने किसिमको पनि सोच कहिले काहीँ आउँदो रहेछ । तर आफूले राम्रो काम गरेको हो अहिलेको स्थितिमा त मेरो के नियन्त्रण हुन्छ र भन्ने सान्त्वना आफैँले आफैँलाई दिने गर्छु म । तालाबन्दी गरेर समस्याको समाधान हुँदैन ।’
त्यस्तै प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरुले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने बताए । उनले कतिपय बेलामा विद्यार्थीहरुले विषय एक तर माग अर्को हुने गरेको पनि बताए । प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा शिक्षामाथि नै आक्रमण भइरहेको बताए । उनले विद्यालयहरु राजनीतिक पार्टीहरुको षड्यन्त्र गर्ने ठाएँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरुलाई शिक्षामा असर पार्न दिनबाट रौक्न सक्नुपर्ने बताए । पछिल्लो समय राजनीतिक नेतृत्वकर्ताहरुमा भइरहेको संस्कृतिको विकासका कारण नै शिक्षामा समस्या भइरहेको उनले बताए ।
प्राध्यापक पोखरेलले भने, ‘ताला लगाउने सबै कुराको समाधान होइन । ताला लगाएर भागेर हिँडने जुन किसिमको प्रवृत्ति छ,त्यो प्रवृत्तिको पनि म आलोचक हुँ । फेस गरेर समस्याको समाधान गर्न सक्नुपर्छ । छलफलबाट समस्या समाधान गर्न सकिन्छ । तर यहाँ एउटा इस्यूबाट ताला लगाउने, भित्रि लुकेको माग अर्को हुने । देशलाई बिगार्नु छ भने सबैभन्दा पहिला शिक्षामा आक्रमण गर्नुपर्छ भन्छ । अहिले हाम्रो विश्वविद्यालयमाथि आक्रमण भएको छ, त्यो आक्रमण शिक्षा बिगार्नका लागि हो । हामीले ताला लगाउने होइन, सुझाव दिने हो, काम गर्न नदिने होइन । त्यहाँभित्र राजनीतिक पार्टीहरुको राजनीतिक षड्यन्त्र गर्ने ठाउँ होइन । खास गरेर राजनीतिक गुटहरुको कारणले गर्दा विश्वविद्यालय बिग्रिँदै गएको छ । विद्यार्थीले ताला लगाएको छ उनीहरुको माग हेर्दा के हो भन्ने थाहा हुँदैन । यस्तो बनाएको भातृ संगठन जसले नेतृत्व गरेको छ तिनै हुन् । ति पार्टीका लिडरहरु हुन् । नागरिक समाज सचेत हो भने उसले सबै राजनीतिक पार्टीका नेता र नेतृत्वहरुको जुन कल्चर विकास भएको छ, त्यसको खुलेर बिरोध र आलोचना गर्न सक्नुपर्छ तबमात्र त्यो नागरिक समाज हो । अहिले जुन किसिमको संस्कृति विकास भएको छ राजनीतिक नेताहरुको त्यो तरिका वास्तवमा ठिक छैन । यसले शिक्षा र शैक्षिक क्षेत्रमा विकृति ल्याएको छ ।’
त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताए । उनले देश संघीयतामा गएको भनेपनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको बताए । उनले हरेक प्रदेशमा सरकारले एक÷एक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राखे । प्राध्यापक चेम्जोङले विश्वविद्यालय अहिले जागिर खाने थलो मात्रै भएको र त्रिविमा धेरै विद्यार्थी बनाएर विश्वको ¥याङ्किङमा जाने लोभका कारण शिक्षाको विकासमा ध्यान दिन नसकेको बताए । उनले राजनीतिक दलहरुप्रति व्यंग्य गर्दै सरकारले त्रिवि जस्ता १० वटा अन्य विश्वविद्यालय स्थापना गरेर पार्टीका मान्छेहरुलाई स्थान स्थान दिन सुझाव दिए ।
प्राध्यापक चेम्जोङले भने, ‘विश्वविद्यालय र उच्च शिक्षा भनेको के हो ? भन्ने सवामा नेपालमा नै ऐतिहासिक राजनीतक रुपमा नै बुझाइको अभाव छ । यो भनेको जागिर खाने ठाउँ हो, र अहिले हामी लोकतन्त्र भनेपनि भागबण्डावादमा विश्वास गर्ने लोकतन्त्र अहिले भएको हुनाले अहिले हरेक क्षेत्रमा दलालवाद हाबी भएको हुनाले विश्वविद्यालयमा मैले जागिर खान पाउनुपर्छ, मैले पढाउन पाउनुपर्छ, गरिवको छोराले सित्तै पढ्न पाउनुपर्छ उच्च शिक्षा भन्ने कुरासम्ममा हामीले हाम्रो बुझाई त्यसैमा सिमित रहेसम्म समस्या समाधान हुँदैन । युर्निभर्सिटी भनेको नलेजलाई युनिभर्सलाइज गर्ने हो । त्यसैले हामीले युनिभर्सिटी भनेको हो भन्ने कुराको बुझाइ छैन अहिलेसम्म नेपालमा । त्रिभुवन विश्वविद्यालयलाई साँच्चै इट इज एप्सुलेट्ली टू लार्ज टू फङ्सन, टू बिग टू फङ्सन । हामीले बाहिर हेरेका छौँ त । १८ सय विद्यार्थीको पनि विश्वविद्यालय हुँदो रहेछ । धनीमानीका बच्चाबच्ची मात्रै पढ्ने हुँदो रहेछ त । हामीलाई नेपालभर ५ लाख विद्यार्थी भनेर ¥याङ्किङमा जानु छ, कस्तो उत्पादन हुन्छ त्योसँग सरोकार छैन । हामी संघीयतामा गइसकेपछि कम्तीमा ७ वटा विश्वविद्यालयहरु बनाउनु पर्दथ्यो । त्रिविलाई कीर्तिपुरको वरपरकोलाई मात्र एउटा विश्वविद्यालय बनाएर अरु सात वटा बनाइदिए त जालीझेली खान मन गर्नेलाई म्यानेज गर्न सकियो । यसको समाधान राजनीतिमा छ । राजनीतिक वृत्तले, राज्यले त्रिविलाई कम्तीमा १० वटा बनाओस् भन्छु म । त्यसो गर्दा आजको १० गुणा बढी झेलीहरुलाई म्यानेज गर्न सकिन्छ ।’
छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरु विद्यार्थीहरुसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराए । उनले त्रिवि आफैँमा समस्याको भण्डार भएकोले दीर्घकालीन रुपमा समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए ।
प्राध्यापक जोशीले भने, ‘हामी त्यस्तो विश्वविद्यालयमा खडा छौँ जहाँ प्राध्यापकहरु विद्यार्थीहरुबाट डराउनु पर्छ । नागरिक समाजले यो सन्दर्भमा सोच्नुपर्छ । त्रिवि आफैँमा समस्याको ठूलो भण्डार हो । जनकपुरको युथ क्याम्पसलाई एउटा प्राइवेट क्याम्पसलाई दिएको सम्बन्धन फिर्ता गरिनुपर्छ । कुनै एउटा क्याम्पसले सम्बन्धन पाउनु पर्ने वा नपाउने भन्ने विषय विद्यार्थीहरुको विषय हुनसक्छ वा सक्दैन ।’
त्यस्तै प्रध्यापक प्रेमबहादुर चलाउनेले विद्यार्थीहरुको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको उल्लेख गरे । उनले विश्वविद्यालय र प्राध्यापकहरुले अपराधीहरुलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या आइरहेको बताए । प्राध्यापक चलाउनेले आफुमाथि गत वर्ष भएको आक्रमण विश्वविद्यालयका विद्यार्थीहरुबाट नभइ पैसा दिएर किनेका गुण्डाहरुबाट भएको दाबी गरे ।
प्राध्यापक चलाउनेले भने, ‘जसले ताला लगाउँछ उसको अल्टीमेट्ली रिसोर्ससँग त्यहाँको सरुवा, नियुक्ति बढुवा यी कुरासँग उनीहरुको कनेक्नशन इन्ट्रेस जोडिएर आएको नै हुन्छ । अपराधीलाई अपराधीकै तरिकाबाट उपचार गर्न नसकेको कारण प्राध्यापक, विश्वविद्यालयहरुले दुःख पाइरहेका छन् । विश्वविद्यालय र प्राध्यापकहरुले अपराधीलाई अपराधीकै तरिकाबाट घटनाको भत्र्सना गर्नुपर्दथ्यो, जसरी बोल्नुपर्दथ्यो, त्यो भएन । मेरो दृष्टिकोणमा उनीहरु विद्यार्थी होइनन् । मलाई आक्रमण गर्नेहरु पैसा लिएर काम गर्ने ग्याङ हो ।’
त्यस्तै प्राध्यापक राजन आचार्यले आंशिक प्राध्यापकहरुको माग समान कामको समान पारिश्रमीक भएको बताए । उनले प्रतिष्पर्धाबाट स्थायीका लागि जान आंशिक शिक्षकहरु तयार रहेकोले प्रतिष्पर्धाबाट स्थायी हुनका लागि तयार रहेको बताए ।
प्राध्यापक आचार्यले भने, ‘हामीले अरु केही मागेकै होइन । हाम्रो माग समान काम समान पारिश्रमीक हो । हाम्रो माग पदाधिकारीको राजीनामा होइन, हामीले समान कामको समान ज्याला मागेको हो । हामी परीक्षा दिएरै प्रतिष्पर्धामा आउँछौँ । हामीलाई सित्तैमा बिना प्रतिष्पर्धा स्थायी चाहिन्छ भन्ने छैन ।’
बैठकमा ज्ञान गोष्ठीका सदस्य सुशील प्याकुरेलले शिक्षा क्षेत्र र विश्वविद्यालयको तरिकालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले विश्वविद्यालयहरुले राष्ट्रिय विषयहरुमा गहन छलफल गरेर त्यसको चिरफार गर्न आवश्यक रहेको बताए ।
सदस्य प्याकुरेलले भने, ‘हाम्रो सिस्टम ठिक छैन । त्यसैबाट पनि युनिभर्सिटी बिग्रेको छ भन्ने कुरा यही हो । युनिभर्सिटीले जब इन्टर्भी नै गर्दैन, राष्ट्रिय इस्युहरुमा, यहाँको राजनीतिको बारेमा इन्टर्भी नै गर्दैन, अहिले अदालत होस् वा संसदको कुरामा युनिभर्सिटीमा एकपटक युर्निभर्सिटीका डिपार्टमेण्टले छलफल गर्नुपर्छ कि पर्दैन ? तर संसारमा जहिले पनि युनिभर्सिटी अघि आइरहेका छन् । किनभने त्यो स्वायत्त हुन्छ । विश्वविद्यालयमा विज्ञता हुन्छ, विज्ञ हुन्छ, यहाँबाट नै राष्ट्रिय इस्यूको बारेमा छलफल र निचोड निकाल्नुपर्छ ।’
सदस्य प्याकुरेलले अन्य देशमा राष्ट्रिय मुद्दाहरुमा विश्वविद्यालयका प्राध्यापकहरुसँग सञ्चारमाध्यमहरुले छलफल गर्ने गरे पनि नेपालमा भने आजसम्म कुनै वहस हुन नसकेको र विश्वविद्यालयहरु पनि देशका मुद्दाहरुमा खुलेर यथार्थतालाई बाहिर ल्याउनेतिर लागि नपर्नु दुःखद भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया