काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ ।
आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबलभएको थियो ।
एमसीसी संसदमा टेबल भएसँगै सोमबार लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएको देखिन्छ । यसरी सोमबार नेप्से परिसूचक २५.४१ अंक बढेर २ हजार ७१८.५१ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स १.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको छ ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ९२ हजार कित्ता शेयर २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
सोमबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सबै भन्दाबढी २.२४ प्रतिशत बढेको छ ।
त्यस्तै वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढी बढेको छ ।
सोमबारको कारोबारमा १० कम्पनीहरु शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । यसरी बढेको १० कम्पनीहरुमध्ये ७ वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । जसमध्ये युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशत बढेको छ । सोमबार कारोबार रकमका आधारमा २६ करोडभन्दा बढीको सेयर खरिदबिक्री गरेर एनटीसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया