अन्तर्राष्ट्रिय जनलेखक संघका महासचिव सम्मानित

काठमाडौँ । अन्तर्राष्ट्रिय जनलेखक संघ, नेपाल च्याप्टरले आज सो संघका केन्द्रीय महासचिव महेन्द्रनारायण पंकजलाई सम्मानित गरेको छ । 

नेपाल भ्रमणमा रहनुभएका भारतीय लेखक महासचिव महेन्द्रनारायण पंकजलाई राष्ट्रिय जनसांस्कृतिक महासंघमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले सम्मान प्रदान गर्नुभएको हो । 

सो अवसरमा नेता विश्वकर्माले मुलुकमा राजनीतिक परिवर्तन भए पनि सामाजिक र सांस्कृतिक रुपान्तरण नभएसम्म जनताले परिवर्तनको उपलब्धि हासिल नगर्ने बताउनुभयो । 

उहाँले दलित, उत्पीडित र विपन्न समुदायको साहित्य सिर्जनाका लागि जनलेखक संघले गर्दै आएको प्रोत्साहनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

महासचिव पंकजले नेपालको वाम सरकारले समानता र समृद्धिको सपना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । 

महासंघका अध्यक्ष खगन्द्र राईले नेपालमा कम्युनिष्ट सरकार बने पनि सीमान्तकृत समुदायका जनताको जीवनस्तर माथि उठ्न बाँकी रहेकाले यसमा लेखकहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो । 

राससका अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी (श्यामल) ले विगतमा भारतीय कम्युनिष्ट आन्दोलनको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा परेको तर अब नेपाली आन्दोलनको प्रभाव भारतीय कम्युनिष्टहरुले लिन सक्ने बताउनुभयो । 

प्राज्ञ विष्णु प्रभातले नेपालको अस्तित्वलाई कम आँक्न खोज्ने कतिपय भारतीय लेखककै प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा संघको नेपाल च्याप्टर पुनः गठन भई मधु पोखरेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । 

संघको संरक्षकमा विश्वकर्मा, सल्लाहकारमा राई र राम विनय रहनुभएको छ भने उपाध्यक्षहरुमा खेम नेपाली, रमेशरञ्जन झा, गायत्री विष्ट, रामबाबु दाहाल, डा पुष्करराज भट्ट र भूमिका सुब्बा हुनुहुन्छ । 

यसैगरी सचिवमा यशोदा अधिकारी, कृष्ण गजमेर, प्रेमनाथ अधिकारी, शिवनारायण पण्डित, सरोजदिलु विश्वकर्मा चयन हुनुभएको छ । 

त्यस्तै, सदस्यहरुमा ऋतु आशीब, भवानीप्रसाद पोखरेल, रीता पौडेल, राममणि पोखरेल, अच्युत घिमिरे, डा बालचन्द्र मिश्र र तारा गाउँले रहनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?