काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल अन्तर्गत आठौ दिनको खेलको समाप्तीसँगै ४ टिम नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
यता एक खेल अगावै ४ टोली भने प्रतियोगिताबाट बाहिरी सकेका छन् । जारी विश्वकपमा अप्रत्यासित नतिजा आउने क्रम रोकिएको छैन् भने आशा गरिएका खेलाडीमध्ये केहीले उच्च र केहीले निराशाजनक प्रर्दशन गरेका छन् ।
आशा गरिएका मध्ये पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो दुई खेलमा सफल देखिएका छन् भने त्यसको ठिक विपरित त्यस्तै आशा गरिएका अर्का खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी दुई खेलमा कमजोर देखिएका छन् । मेस्सीको जादु जारी विश्वकपमा देख्न पाएको छैन । २ खेलमा गोल गर्न नसकेका मेस्सी असफल मात्र हैन् आलोचितको पात्र पनि बनिसकेका छन् ।
समूह चरणको पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा भने क्रोएसियासँग ३–० ले स्तब्ध भएको थियो । गत संस्करणको विश्व कपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका मेस्सीले यो पटक उपाधि जित्ने आशा धेरैले गरेका थिए ।
खेलमा सबैको आशा र विश्वासको केन्द्रबिन्दुमा रहेका कप्तान मेस्सीले सबै खेल समर्थकहरुलाई खराब प्रर्दशन गदै निराश बनाईदिए । आइसल्याण्ड विरुद्धको खेलमा पेनाल्टी मिस गरेका मेस्सी पहिलो खेलबाट सन्तुष्ट थिएनन् । कप्तान मेस्सीले क्रोएसिया विरुद्धको प्रिम्याच कन्फ्रेन्समा बोल्दै गोलरक्षक काबालेरोको असावधानीका कारण पहिलो गोल खाएको बताए । सन् १९५८ पछि अर्जेन्टिनाले पहिलो पटक ठूलो हार ब्यहोरेको हो ।
मेस्सी फिनिसिङ लाइनमा चुक्नु उनको कुनै गल्ती नभएको बार्सिलोनाका पूर्व सहकर्मी सेस फाब्रिगासले बताएका छन् । उत्कृष्ट खेलाडीलाई बल उपलब्ध गराउन सधैं चतुर र प्रतिशाभाली खेलाडी चाहिने हुँदा अर्जेन्टिनी टिममा त्यस्तो सदस्य नदेखेको उनले जानकारी दिए । यता अर्जेन्टिनाका पूर्व खेलाडी पाब्लो जाबलेटाले खेलाडीहरुले तीव्र गतिमा खेल्न नसकेको बताए । खेलको दुवै खेलमा मेस्सी ’फाइनल थर्ड’ मा एक्लिएको उनले जानकारी दिए ।
पहिलो दुई खेलमा असफल भएपछि अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीको रणनीतिलाई लिएर प्रश्न उठेको छ । दुवै खेलमा साम्पाओलीले युवा फरवार्ड पाब्लो डिबालालाई पहिलो रोजाइमा मौका दिएनन् । डिबालाले गत सिजनमा इटालियन क्लब युभेन्ट्सका लागि २२ गोल गर्न सफल भएका थिए ।
यता इंग्ल्यान्डका पूर्व खेलाडी क्रिस वाड्ले पाब्लो डिबाला र मेसीको जोडीले अर्जेन्टिनाका लागि राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्न सक्ने बताउँछन् । मेस्सीले सबै कौशल प्रयोग गर्न खोजेको तर खेलाडीविचको तालमेल नमिल्दा निराश देखिएको उनले बताए ।
अर्जेन्टिनाका लागि १ सय २६ खेल खेलेका मेसीले ६४ गोल गरिसकेका छन् । क्लब फुटबलमा स्पेनिस क्लब बार्सिलोनालाई दर्जनौं उपाधि दिलाइसकेका मेस्सीले देशका लागि भने कुनै उपाधि जिताउँन सकेको छैन् ।
अर्जेन्टिना सन् २०१४ को विश्वकपमा उपविजेता बनेको थियो भने २०१५ मा कोपा अमेरिका फुटबलको फाइनलमा पराजित हुँदै उपाधी जित्नबाट बञ्चित भएको थियो ।
सन् २०१६ मा स्पेशल कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएसँगै मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । मेस्सीले सबै फ्यानको आग्रहपछि २ महिनामा सन्यास फिर्ता लिएर अर्जेन्टिनालाई विश्वकपमा पुर्याउँन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
रसिया विश्वकपमा मेस्सी असफल हुँदा पुनः सन्यास लिन सक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया