काठमाडौं। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज साँझ समूह ‘जी’ मा रहेको इंग्ल्याण्डले पानामाको सामना गर्दैछ ।
यि दुई टिमविचको खेल निज्नी नोभगोरोड स्टेडियममा नेपाली समयअनुसार आज साँझ ५ः४५ बजेपछि सुरु हुदैछ । बलियो मानिएको टिम इंग्ल्याण्डले नवप्रवेशी पानामालाई आजको खेलमा हराउन सके समूह चरणको अन्तिम खेलअघि नै नकआउट चरणको स्थान पक्का गर्नेछ । अन्तिम खेलमा बेल्जियम र इंग्ल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछ ।
इंग्ल्यान्डले जितेमा पानामा र ट्युनिसिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिनेछन् । पहिलो खेलमा ह्यारी केनले इन्ज्यूरी समयमा गरेको गोलको मदतले इंग्ल्याण्डले ट्युनिसियालाई २–१ गोलले हराएको थियो । पानामासँग पहिलो पटक भिड्दा इंग्ल्याण्ड उच्च मनोबलका साथ मैदानमा उत्रदैछ ।
इंग्ल्याण्डका डेले अली थाइ इन्ज्यूरीका कारण मैदानमा उत्रन नसक्ने देखिएको छ । यता रुवेन लफ्टसले मिडफिल्डको जिम्मेबारी पाएका छन् भने मार्को रासफोर्डले अग्रपंक्तिमा ह्यारी केनलाई साथ दिनेछन् । पहिलो खेलमा बेल्जियमसँग ३—० गोलले पराजित भएको पानामाले इंग्ल्यान्डलाई कडा टक्कर दिने रणनिती बनाएको देखिन्छ । बेल्जियम विरुद्ध डिफेन्समा कमजोर देखिएको पानामाले इंग्ल्यान्ड विरुद्ध डिफेन्समा विशेष ध्यान दिनेछ । पानामा सकेसम्म उत्कृष्ट खेल्दै विश्वकपमा पहिलो गोल गर्न चाहान्छ ।
सन् २००६ पछि राम्रो सुरुवात गरेको इंग्ल्यान्डले आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । सन् १९८२ र २००६ मा इंग्ल्याण्डले विश्वकपको सुरुवाती दुई खेलमा जित हात पारेको थियो ।
यता ह्यारी केनले जारी विश्वकपमा २ गोल गरेका छन् भने सन् १९८६ को विश्वकपमा गेरी लिंकरले समूह चरणमा ३ गोल गरेका थिए ।
आज साँझको खेलमा इंग्ल्याण्डले आफ्नो जादु पानामा विरुद्धको खेलमा देखाउन सक्ला वा नसक्ला त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया