काठमाडौं । २१ औ संस्करणको फिफा विश्वकप अन्तर्गत आज राति समुह ‘एच’ मा रहेको कोलम्बिया र पोल्याण्ड आमने—सामने हुँदैछ ।
कजान एरिनामा हुने कोलम्बिया र पोल्याण्डविचको खेल नेपाली समयअनुसार आज राति ११ः४५ बजे पछि सुरु हुँदैछ । समूह चरणको पहिलो खेलमा जापानसँग २—१ गोल अन्तरले पराजित भएको कोलम्बिया पोल्याण्डलाई पराजित गर्दै अंक बटुल्न चाहन्छ । अंक विहीन दुबै टिमका लागि यो खेल नकआउट चरणमा पुग्ने सम्भावना कायमै राख्नका लागि निकै महत्वपुर्ण रहेको छ ।
यता पोल्याण्ड अफ्रिकी राष्ट्र सेनेगलसँग २—१ ले पराजित भएको थियो । आज रातिको खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टिमले नकआउट चरणमा पुग्ने आशालाई जीवितै राख्नेछ ।
पहिलो खेलमा चोटका कारण पुर्ण रुपमा फिट नभएपछि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका हामेस रोद्रिगुइज आज सुरुवात देखि नै खेल्नेछन । यता पोल्याण्डका स्ट्राइकर डाविड कोनास्कीले पहिलो खेलमा राम्रो खेलेका कारण आज पनि टिममा रहनेछन् । पहिलो खेलमा हार ब्यहोरेर पोल्याण्डले अहिलेसम्म विश्वकपका समुह चरण पार गर्न सकेको छैन । यता कोलम्बियाका कार्लो सान्चेजले पहिलो खेलमा रातो कार्ड पाएका कारण आज खेल्न पाउने छैनन् ।
सन् २००६ पछि यी दुई टिम पहिलो पटक मैदानमा उत्रदैछन् । पछिल्लो पटक भएको खेलमा कोलम्बिया २—१ ले विजयी भएको थियो । युरोपियन टिम विरुद्ध कोलम्बियाले ९ खेलमा २ खेलमा मात्र जित निकालेको छ । जसमा दुई बराबरी र ५ हार ब्यहोरेको छ ।
पहिलो खेलमा जित दर्ता गराएका जापान र सेनेगल समान ३—३ अंकका साथ पहिलो र दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया