‘सर, तपाईं ढुक्क हुनुहोस्, यो केस हामी जसरी पनि सुल्टाइहाल्छु नि…..’
‘होइन–होइन जसरी पनि मुद्दा चलाउनुपर्छ, नभए पीडितमाथि अन्याय हुन्छ ।’
यो संवाद महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र मुद्दामा कार्यरत सई (निलम्बित) चन्द्र भण्डारी र निलम्बित इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी बीचको हो ।
दरबारमार्गस्थित एक होटलमा भएको सामूहिक बलात्कार घटना थामथुम पारी अभियुक्तलाई छुट्कारा दिने क्रममा मुद्दाका सई भण्डारी र इन्स्पेक्टर ठकुरीले डिएसपी भारतीलाई ढुक्क हुन आग्रह गर्दै घटना सल्ट्याउने नाममा पीडित युवतीलाई करीब ३४ लाख नगद दिई पीडक र पीडितबीच मिलापत्र गराई छोडिदिएका थिए ।
दरबारमार्ग प्रहरी वृत्तको मुद्दा शाखाका निकै चलायमान–चलखेलवाला छट्टु सईका रुपमा परिचित भण्डारीलाई होस्टेमा हैँसे गर्न पुगे ठकुरी । सोही मुद्धामा निलम्बनमा परेका ठकुरी र भण्डारीको मिलेमतोमा सामूहिक बलात्कार जस्तो जघन्य अपराध ‘कमिसन’ तथा घुसको चक्करमा सुनुवाई नै नगरी थामथुम पारेपछि डिएसपी भारती समेत छानबिनको घेरामा परे ।
त्यस्तै, केही दिनअघि महानगरीय प्रहरी वृत्त बालाजुको मुद्दा शाखामा कार्यरत असई माधव डाँगीले केही सार्वजनिक मुद्दामा थुनामा रहेका डान्स र दोहोरी रेष्टुरेण्ट व्यवसायीहरूलाई ‘तिमीहरूलाई त्यतिकै कहाँ छोड्न मिल्छ र? प्रतिव्यक्ति ५० हजार खर्च गर्नुपर्छ’ भनेपछि हंगामा मच्चियो ।
यो घटनापछि बालाजु वृत्तका प्रमुख डिएसपी विश्वराज खड्काले मुद्दा शाखाका असई डाँगीलाई कारबाही गर्नेसम्मको चेतावनी दिए । तर, असई डाँगी होइनन्, डिएसपी खड्का नै उल्टै कारबाही स्वरुप सरुवामा परे । डिएसपी खड्का एकवर्षे कार्यकाल नबित्दै आठ महिनामा नै सरुवामा परेका थिए ।
मुद्दा शाखालाई पेवाको रुपमा अँगाल्दै आएका डाँगीकै कारण यसअघि बालाजु वृत्तका तत्कालीन प्रमुख डिएसपी नविन कुमार भट्टराई र असई चन्द्र भाट लगायत तीनजना अख्तियारको फन्दामा परेका थिए । बौद्ध वृत्तमा हुँदा विवादमा आएका डाँगी बालाजु वृत्तमा आएपछि पनि त्यतिकै विवादित छन् । यतिसम्म कि, किलो–वान (महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख) विश्वराज पोखरेलले टेकुस्थित कार्यालयमा बोलाएर डाँगीलाई सख्त चेतावनी दिइसकेका छन् ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी दिपक पोखरेलले बैकिङ कसुर सम्बन्धि मुद्दामा संलग्न अभियुक्तलाई पक्राउ गर्न वृत्तको मुद्दा शाखालाई धेरै पटक ताकेता गरे । क्षेत्रपाटीका मनोज शाही निवेदक रहेको उक्त घटनाका मुख्य अभियुक्तलाई पक्राउ गर्न मुद्दा शाखाले आनाकानी मात्र गरेन, उल्टै फोन गरेर प्रहरीबाट ‘सेभ’ हुन सल्लाह दियो ।
ती व्यक्तिविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा सोह्रखुट्टे मुद्दा शाखाका सई रामबहादुर महतराको बारम्बार सम्पर्क भएको देखियो । डिएसपी पोखरेलले त्यस अभियुक्तलाई ‘उपस्थित गराऊ’ भन्दा सई महतराले नै हुन्छ भन्दै टारे ।
डिएसपी पोखरेल काज सरुवा भएर प्रहरी प्रधान कार्यालय जाने बेलासम्म पनि सई महतरा त्यस व्यक्तिलाई पक्राउ गर्छु भन्दै टारिरहेको अवस्थामा भेटिए । बालाजुबाट स्वयम्भु र स्वयम्भुबाट सोह्रखुट्टे आइपुगेका सई महतरामा पनि यसअघि दुई हजार घुस लिएको अवस्थामा प्रहरी परिसर टेकुले मौखिम रुपमा सख्त चेतावनी दिएका व्यक्ति हुन् ।
'मलाई त अहिले आनन्द लागिरहेको छ', डिएसपी पोखरेल भन्छन्, ‘म जे नगर भन्छु, त्यही काम अगाडि गर्छन्, कुन दिन बदनामी भइन्छ भन्ने चिन्ता थियो, धन्न प्रधान कार्यालयमा काज सरुवा भयो अब आनन्द आयो ।’
महानगरीय प्रहरी कार्यालय अन्तर्गत उपत्यकाका तीनवटै परिसर र वृत्तमा कार्यरत मुद्दा शाखाका सई र असईहरू मध्ये धेरैजसो आफ्नो दरबन्दी भएको कार्यालयमा हाजिर हुन मान्दैनन् ।
आर्थिक चलखेलका लागि मुद्दामा ‘सेटिङ’
यतिसम्म कि, कतिपय सई तथा असईहरूले इन्चार्जलाई जानकारी नै नदिई मुद्दामा सेटिङ मिलाउने गरेका उदाहरणहरू प्रयाप्त छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न वृत्तमा बस्ने मुद्दा शाखामा कार्यरत सई, असई र इन्स्पेक्टरले समेत सेवाग्राहीसँग कतिपय अपस्थामा पैसाको बार्गेनिङ गरेको पाइएको छ । विशेष गरी लेनदेनको मुद्दामा प्रहरी कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् ।
सेटिङ मिल्यो भने जस्तो सुकै कठिन अवस्थामा पनि अभियुक्तहरू पक्राउ गर्न र सफल अनुसन्धान गर्न तयार हुन्छन् । पीडकलाई कारबाही गरी पीडितलाई न्याय दिने नाममा आर्थिक चलखेल गर्न क्रियाशील हुन्छन् । मुद्दा शाखामा ‘सोको’ ट्रेनिङ प्राप्त सई र असई खट्नु पर्ने व्यवस्था छ ।
त्यस्तै, कानून सम्बन्धि जानकार प्रहरी अधिकृतहरूको पनि त्यतिकै आवश्यकता हुन्छ । काठमाडौं उपत्यकाको हकमा त जसको पावर छ, उसैको हालीमुहाली हुन्छ । महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकारी भन्छन् –‘आर्थिक चलखेलमा सई र असईको मात्र होइन इन्चार्ज नै संलग्नता हुने गरेको छ ।’
‘नाम मात्र सई, असईको हो, इन्चार्जहरू पनि कम्तीका को छन् र? ‘लाइन’ मा आउन मरिहत्ते गर्नुको कारण सबैमा जगजाहेर नै छ ।’ उनी भन्छन् – ‘कोही आफूखुशी पनि गर्छन् होला तर धेरैजसो हाकिमको चालमा हिँड्नेहरू छन् ।’
डिएसपीहरू (डिएसपी) हरूले नै पैसा खान खोजेपछि सई र असईले जुस खान खोज्दैन त? उनको प्रश्न थियो । तर पनि काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत डिएसपी र इन्स्पेक्टर भन्दा मुद्दाका सई र असई पावरफूल हुने गरेको पाइएको छ । यसको खास कारण एउटै क्षेत्रमा अखडा जमाएर बस्ने र घुस खाँदा पनि आफ्नो विश्वासिलो माध्यम प्रयोग गर्नु हो ।
जागिर छोड्लान तर, भ्याली छोड्दैनन्
अनुभवका आधारमा दक्ष र सिपालु, मुद्दाका सई र असईहरू काठमाडौं बाहिर सरुवा जानै मान्दैन्न । एकजना सई असईले पाँच वर्षसम्म मुद्दा शाखामा बस्यो भने काठमाडौंमा घर घडेरी जोड्न सफल हुन्छन् । नेपाल प्रहरीका पूर्वडिएसपी अनिल सुब्बा भन्छन्, ‘महानगरीय प्रहरी कार्यालय अन्तर्गत मुद्दामा रहेका र घुमुवा (सादा पोशाकमा खट्ने ) प्रहरी अधिकृत धेरैजसोले काठमाडौंमा घर घडेरी जोडेका छन् ।’
‘प्रहरीको वर्तमान तलब स्केलले कोठा भाडा तिर्न पुग्दैन, तर उनीहरूले काठमाडौंमा घर घडेरी जोडेका हुन्छन्’ सुब्बा थप्छन्, ‘के त्यो पुर्ख्यौंली सम्पति हो त?’
कतिपयले त इन्चार्जको आदेश भएपनि घुस नखाई कुनै काम अगाडि सार्दैनन्, यतिसम्म कि, कुनै पीडकलाई पक्राउ गरेपनि उल्टै पीडितसँग पैसा असुल्न खोज्ने गरेको पाइएको छ ।
फाइल फोटोकपीमा पनि घुस
कतिपय वृत्तका मुद्दा शाखाहरूले फोटोकपी गर्ने नाममा हिरासतमा रहेका थुनुवा तथा तिनका आफन्तबाट तीनदेखि पाँच हजारसम्म रकम उठाउने गरेको पाइएको छ । जुन रकम मुद्दाको फाइल बोकेर सरकारी वकिल कार्यालय जाने प्रहरीको खल्तीमा जाने गर्छ ।
प्रहरी कार्यालयभित्र नै फोटोकपीको लागि रकम लिँदा घुस लिएको खुलासा हुने डरले सरकारी वकिल कार्यालय बबरमहल र काठमाडौं जिल्ला अदालत उपस्थित गराउने क्रममा यस्तो रकम लिने गरेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयले पाँच वर्षसम्म प्रहरी प्रधान कार्यालयमा कार्यरत सबैलाई जिल्लामा खटाउने योजना सार्वजनिक गरिसकेको छ । तर, महानगरीय प्रहरी कार्यालय मातहतका परिसर र वृत्तका सई र असईहरू उपत्यका छोड्न मान्दैनन् । सरुवा भएर गएपनि काज मिलाएर सकभर काठमाडौंमा नै बस्ने चाजोपाँजो मिलाउन उनीहरू उद्धत हुन्छन् ।
उजुरी नआउँदा समस्या
काठमाडौं उपत्यकालाई शान्ति, सुरक्षा सेवा भन्दा पनि कमाउको अखडा बनाउँदै आएका प्रहरी कर्मचारीलाई भ्याली बाहिर लखेट्नुपर्ने बेला आएको प्रहरी अधिकारी बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापा मुद्दाको विषयमा त्यस्तो गुनासो नआएको बताउँछन् ।
आजसम्म लिखित गुनासो आएको छैन । उनी भन्छन्, ‘मौखिक गुनासो आएपनि तत्काल कारबाही गर्ने गरेका छौं ।’
कतिपयलाई परिसर टेकुमा नै बोलाएर चेतावनी दिने र कारबाही समेत गर्ने गरेको प्रवक्ता थापा बताउँछन् । विवादमा मुछिएका मुद्धाका सई असई जो कोहीलाई पनि कारबाही गरिएको थापाको दाबी छ ।
यदि सेवाग्राही तथा सर्वसाधारणलाई दुख दिने नियतले कसैले केही बदमासी गरिरहेको छ भने त्यस्तो प्रहरी अधिकृतदेखि जवानसम्मको विषयमा तत्काल परिसर प्रमुख वा प्रहरी कन्ट्रोलमा लिखित र मौखिक रुपमा उजुरी दिन सकिने उनी बताउँछन् ।
परिसर प्रमुख पोखरेलले भ्रष्ट प्रहरीको आचरण सुधारका लागि प्रत्येक महिनामा मुद्धा र घुमुवा प्रहरीलाई कार्यकक्षमा नै बोलाएर सख्त चेतावनीका साथै कडा निर्देशन दिने गरेका छन् । मेट्रो कार्यालयबाट पनि बारम्बार चेतावनी र निर्देशन हुने गरेको छ । तर, केही घुस्याहा र भ्रष्ट प्रहरीहरूले वेश्यालयदेखि जुवा अखडासम्म, केही सामान्य सार्वजनिक मुद्दादेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दामा समेत घुस खाने गरेको पाइएको छ ।
जवान र हबल्दारको गुनासो
कुनै प्रहरी परिसर र वृत्त कार्यालयको मुद्दा शाखाको सम्पूर्ण काम कारबाही जवान र हबल्दारबाट हुने गरेको बताइन्छ । महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत एक हबल्दार भने कतिपय सई, असई सा’पहरूलाई कम्प्युटर नै चलाउन आउँदैन ।
कम्प्युटरमा टाइप गर्नेदेखि, बयान लिनेसम्म, लिखित प्रमाण तयार पार्नेदेखि अदालत धाउनेसम्म हबल्दार र जवानहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । हाकिमले त बयान प्रमाणित गर्न र मुद्दाको अनुसन्धान अधिकृतको रुपमा हस्ताक्षर गर्ने हो । मुद्दाका सई, असईहरू आफू नगद घुस खान्छन्, सिपाही र हबल्दारलाई जुस र एक सयको रिचार्जमा भुल्याउँछन् ।
उल्लेखित वृत्तहरूमा कार्यरत मुद्दाका सई र असईहरू सबै भ्रष्ट आचरणको नभएपनि ‘घुमिफिरी रुम्जाटार’ भने जस्तै मुद्दा बाहेक अन्य स्थानमा बसेर प्रहरी सेवा गर्नेहरू धेरै कम छन् । उपत्यकामा बाहिर सरुवा भएपनि फेरि जसोतसो गरी काठमाडौंमा नै बस्न रुचाउनुको मुख्य कारण ‘नगद नारायण’ नै भएको अधिकृतहरू दाबी गर्छन् । तर, कतिपय मुद्दाका असई, सईहरू बाध्यताले पनि उपत्यकामा बस्नु परेको बताउँछन् । मुद्दा शाखामा नै बस्नुपर्ने बाध्यताको सम्बन्धमा भने उनीहरू नाजवाफ हुन्छन् ।
मुद्दालाई सई–असई तथा घुमुवाले वृत्त इन्चार्जलाई नै आफ्नो पकडमा राख्न खोज्छन् । आर्थिक लोभमा नै इन्चार्ज फसेपछि काठमाडौंका विभिन्न वृत्तका इन्चार्जहरू ‘काण्ड’ मा मुछिएर लागेर बर्दी फुकाल्नु परेको र अवधि नपुग्दै सरुवा हुने गरेको थुप्रै उदाहरण छन् ।
को कहाँ ?
वृत्त कालिमाटी – सई दिनेश लामिछाने
वृत्त कीर्तिपुर – बलराम झा
वृत्त थानकोट – सई मोहन थापा
वृत्त बालाजु – सई गोकर्ण थापा र असई माधव डाँगी
वृत्त महाराजगन्ज – सई रेवतकुमार पोखरेल
बृत्त बौद्धमा – सई रमेश श्रेष्ठ र असई भूमिनन्दराज राय
वृत्त गौशाला – सई रमेशराज कोइराला
वृत्त नयाँ बानेश्वर – सई शिव गिरी
वृत्त कमलपोखरीम – सई चेतबहादुर चमिकार
वृत्त दरबारमार्ग – असई नविन नेगी
वृत्त सोह्रखुट्टे – सई रामबहादुर महतरा र तारा विक तथा असई पदमकान्त न्यौपाने
वृत्त जनसेवा – सई याम केसी
वृत्त स्वयम्भु – सई विष्णु खतिवडा
वृत्त सिंहदरवार – सई कृष्ण श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया