मुसहर समुदाय पुगेर प्रदेश २ का मुख्यमन्त्रीले भने‌, ‘समस्या हामीकहाँ ल्याउनू’

महेन्द्रनगर, धनुषा । मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबैभन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि थुप्रै योजना ल्याएको बताए ।

मुसहर समुदाय पछाडि पर्नुमा अशिक्षा नै प्रमुख कारक रहेको बताउँदै उनले बालबालिकाको शिक्षामा जोड दिन अगुवालाई आग्रहसमेत गरे । अधिकार खोजेर मात्र नपाइने बताउँदै उनले अधिकारका लागि पहिले आफैँ शिक्षित र सजग हुनुपर्ने उल्लेख गरे ।

नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले भने, “मुसहर डोमजस्ता समुदायसँग धेरै समस्या छन् । समस्या हामी कहाँ ल्याउनु, प्रदेश सरकार भ्याएसम्म सहयोग गर्न तयार छ ।” 

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता समस्या समाधानका लागि प्रदेश सरकारले विशेष प्याकेज नै ल्याएको उल्लेख गर्दै उनले ती योजनाबाट लाभ लिन आग्रहसमेत गरे । भोर संस्थाको मूल आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य रामआशिष यादव, पूर्वसभासद असर्फी सदा, राष्ट्रिय भूमि मुसहर विकास परिषद्, भारतका अध्यक्ष उमेश माझी, गजेन्द्र माझी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रसहितको उपस्थिति थियो । 

सम्मेलनमा नेपाल–भारत र बंगलादेशका करीब २०० मुसहर समुदायका अगुवा सहभागी भएका थिए । 

अस्थायी शिक्षकको समस्या समाधान हुनुपर्ने 

यसैबीच, मुख्यमन्त्री राउतले अस्थायी शिक्षकको समस्या समयमै समाधान हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

मुख्यमन्त्री राउतले अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै लामो समयसम्म मुलुकको सेवा गरेका अस्थायी शिक्षकसँग कुनै पनि ढंगले अन्याय हुनु नपर्ने बताए ।

शिक्षक आयोगले असार २९ र ३० गते निर्धारण गरेको परीक्षाको तिथि सार्नुपर्ने शिक्षकको मागलाई संघीय सरकारले सम्बोधन गर्नुपर्ने पक्षमा आफू रहेको उनको धारणा थियो । 

असार ६ गते सूचना प्रकाशन गरेर असार २९ र ३० गते परीक्षा लिनु न्यायपूर्ण नरहेको भन्दै उनले यस विषयमा संघीय सरकार, शिक्षा मन्त्रालय र आयोगसँग आफूले कुरा गर्नेसमेत बताए ।

आन्दोलन परिचालन समितिका संयोजक बिन्दादास थारुको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेका अस्थायी शिक्षकले संघीय सरकारबाट आफूहरुको माग पूरा नभए कडा आन्दोनल गर्ने चेतावनीसमेत दिएका छन् । अस्थायी शिक्षक परीक्षाको मिति सार्न माग गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?