सरकारले आगामी वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । जसको कारण विभिन्न राजनीतिक दलहरू प्रत्यक्ष वा परोक्षरूपमा निर्वाचनको तयारीमा जुटेका छन् ।
सो क्रममा काठमाडौंको तारकेश्वर नगरपालिमा पनि निर्वाचनको छनक देखिन थालेको छ । अन्य दलहरूजस्तै तारकेश्वरमा नेकपा एमालेले पनि आफ्नो चुनावी तयारी थालेको छ ।
यसअघि पनि एमालेले जितेको तारकेश्वरमा मेयरका आकांक्षीहरूले आ–आफ्नो तयारी थालेका छन् । लोकपथलाई प्राप्त जानकारीअनुसार वर्तमान मेयरदेखि पुराना राजनीतिज्ञहरू समेत आकांक्षी रहेका छन् ।
हाल तारकेश्वरबाट ४ जना मेयरको आकांक्षी देखिएका छन् । वर्तमान मेयर रामेश्वर बोहोरा, पुराना राजनीतिज्ञ श्यामकुमार घिमिरेदेखि लिएर वडा अध्यक्षसमेत मेयरको आकांक्षी रहेका छन् ।
यी हुन् मेयरका आकांक्षी
१ रामेश्वर बोहोरा
तारकेश्वर नगरपालिकाका वर्तमान मेयर हुन्, रामेश्वर बोहोरा । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित बोहोरा आगामी निर्वाचनमा समेत आफूलाई मेयरको आकांक्षीको रूपमा अघि सार्ने तयारीमा देखिएका छन् ।
बामगती प्रदेश कमिटीको सदस्य समेत रहेका मेयर बोहोरा तत्कालीन मनमैज्जु गाविसको गाविस अध्यक्ष समेत हुन् । केन्द्रीय राजनीतिमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटतम रहेको उनी निकटहरू बताउँछन् ।
२. श्यामकुमार घिमिरे
आगामी निर्वाचनमा तारकेश्वर नगरपालिकाबाट मेयरको रूपमा अघि आएको अर्को नाम हो, पुराना राजनीतिज्ञ श्यामप्रसाद घिमिरे ।
वर्तमान बागमती प्रदेश कमिटीबाट एमालेका सदस्य समेत रहेका नेता घिमिरे २०३६ सालबाट वाम राजनीतिमा सक्रिय छन् । स्थानीयस्तरमा लोकप्रिय मानिने घिमिरे राष्ट्रिय योजना आयोगका पूर्वकर्मचारी हुन् ।
घिमिरे यसअघिको २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत मेयरका आकांक्षी थिए । आगामी निर्वाचनका लागि मेयरको तयारीस्वरूप घिमिरेले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
३. लेखनाथ फुँयाल
वैशाख ३०, २०७९ को स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाबाट मेयरको तयारीमा रहेको अर्का व्यक्ति हुन्, लेखनाथ फुँयाल । मेयरको आकांक्षीका रूपमा अगाडि आएका फुँयाल हाल एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका छन् ।
स्थानीयस्तरमा लोकप्रिय मानिने फुयाँल पूर्वगाविस अध्यक्ष समेत हुन् । तत्कालीन काभ्रेस्थली गाविसमा २०५४–२०५९ सालसम्म गाविस अध्यक्षका रूपमा रहेका काम गरेका छन् ।
फुँयालले यसअघिको निर्वाचनमा मेयरका लागि इच्छा जाहेर नगरे पनि आगामी निर्वाचनमा भने आफूलाई आकांक्षीको रूपमा लबिङ गर्ने उनी निकटहरू बताउँछन् ।
४. मनोजकुमार घिमिरे
तारकेश्वर नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा मनोजकुमार घिमिरेको नाम पनि अघि आएको छ । स्थानीयस्तरमा लोकप्रिय मानिने नेता घिमिरे हाल तारकेश्वर वडा नं ८ का वडाध्यक्ष रहेका छन् ।
सरकारले आगामी २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेता घिमिरेले भेटघाट तथा छलफललाई तीव्रता दिएका छन् ।
काठमाडौं महानगरपालिकासँग जोडिएका कारण केन्द्रीय स्तरका नेताहरूको समेत चासो हुने नगरपालिका हो, तारकेश्वर नगरपालिका ।
तारकेश्वरमा एमाले मात्रै नभएर नेपाली कांग्रेस, माओवादी केन्द्र तथा अन्य दलबाट समेत मेयरको आकांक्षीहरूको नाम आउन थालेको छ । तारकेश्वरमा मात्र नभएर देशभरबाट मेयरका आकांक्षीहरूले आ–आफ्नो क्षेत्रबाट तयारी थालेका छन् ।
यो पनि
काठमाडौं महानगरमा कांग्रेसबाट पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म मेयरका आकांक्षी
तारकेश्वरमा माओवादी केन्द्रबाट को–को छन् मेयरका आकांक्षी ?
तारकेश्वरमा स्थानीय निर्वाचनको सरगर्मी बढ्यो : को–को छन् कांग्रेसबाट मेयरका आकांक्षी ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया