रसिया । उरुग्वे जारी फिफा विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बनेको छ ।
त्यस्तै, आयोजक राष्ट्र रसिया उपविजेता बनेको छ । दुवै टिम एक खेल अगावै नकआउट चरणमा पुगिसकेको थियो । सामरा एरिनामा सोमबारराति भएको समूहको चरणको अन्तिम खेलमा उरुग्वेले रसियालाई ३—० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेले समूहको आफ्नो तीनवटै खेलमा अपराजित रहदैं ९ अंक बनाएको छ भने २ खेलमा जित र १ मा हार व्यर्होदै रसियाले ६ अंक बनाएको छ ।
खेल सुरु भएको १० मिनेट पनि बित्न नपाउदै उरुग्वेका लागी लुइस स्वरेजले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले फ्रिकिक मार्फत गोल गरे । २३ औ मिनेटमा रसियाका डेनिस चेरीसेभले आत्मघाती गोल गरे । यता ३६ औं मिनेटमा इगोर स्मोल्निको दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रसिया १० खेलाडीमा सिमित भएको थियो ।
खेलको पहिलो हाफसम्म २—० ले पछाडी रहेको रसियाले दोस्रो हाफमा गरेको केहि प्रयास उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारिदिए । रसियालाई दबावमा राख्दै उत्कृष्ट प्रर्दशन गरेको उरुग्वेका लागी ९० औ मिनेटमा एडिन्सन काभानीले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल उरुग्वेले ३—० ले आफ्नो पक्षमा पार्यो ।
यसअघि सम्पन्न भएको समूह चरणको पहिलो खेलमा उरुग्वेले इजिप्टलाई र दोस्रो खेलमा साउदी अरेबियालाई समान १—० गोल अन्तरले हराएको थियो । यता रसियाले पहिलो खेलमा साउदी अरेबियालाई ५—० ले तथा दोस्रो खेलमा इजिप्टलाई ३—१ गोल पराजित गरेको थियो ।
त्यस्तै, सोमबारराति भएको यसै समूहको अर्को खेलमा साउदी अरेबियाले इजिप्टलाई २—१ गोल अन्तरले पराजित गर्यो ।
साउदी अरेबियाको जितमा सलमान अल्फराजले पेनाल्टीमार्फत तथा सालेम अल्दावास्रीले समान १—१ गोल गरेका थिए । यता इजिप्टका लागी मोहम्मद सलाहले एक गोल फर्काएका थिए ।
जितपछि साउदी अरेबियाले ३ अंक जोडपनि प्रतियोगिताबाट बाहिरिसकेको छ । इजिप्ट भने अंक विहिन बन्दै बाहिरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया