स्पेन समूह ‘बी’ विजेता र पोर्चुगल उपविजेता बन्दै प्रि—क्वार्टरफाइनलमा

रसिया । पूर्व विश्व विजेता स्पेन समूह ‘बी’ विजेता तथा पोर्चुगल उपविजेता बन्दै जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । 

किलिनिंगार्ड रंगशालामा सोमबारराति सम्पन्न खेलमा अफ्रिकी राष्ट्र मोरक्कोसँग बराबरी खेल्दै ५ अंक बनाएको स्पेन समूह विजेताका रुपमा प्रि—क्वार्टरफाइनलमा पुगेको हो । समूह चरणको अन्तिम खेलमो मोरक्कोले स्पेनलाई २—२ गोलको बराबरीमा रोकेको हो । 

खेल सुरु भएको १४ मिनेट पनि बित्न नपाउँदै खालिद बोउटेवले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । कप्तान सर्जियो रामोस र आन्दे्रस इनिइष्टाबीचको तालमेत नमिल्दा त्यसको फाइदा उठाएका बोउटेवले वान भर्सेस वानमा गोल गरे ।

यता १९ औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १—१ को स्थितीमा ल्याए । पहिलो हाफसम्म १—१ गोलमा रोकिएको मोरक्कोले दोस्रो हाफमा गोल गर्दै अग्रतालाई दोब्बर बनायो ।

प्रतिस्पर्धात्मक खेलको ८१ औं मिनेटमा युसुफ एन नेस्रीले गोल गरे । खेलको इन्ज्यूरी समयमा इयागो आसपासले गोल गर्दै खेललाई २—२ गोलको बराबरीमा ल्याए । यता ७४ औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गरेको गोल रेफ्रीले अफसाइड दिएका थिए ।

त्यसपछि खेलमा थप गोल भएन र खेल बराबरीमा सकियो । बराबरीपछि स्पेनले ५ अंक बनाएको छ । इरानसँग बराबरी खेल्दै समान ५ अंक नै बनाएको पोर्चुगल भने गोल अन्तरको आधारमा पछि परेको हो । 

 

त्यस्तै, सोमबारराति नै मार्डोभिया एरियामा भएको अर्को खेलमा पोर्चुगल इरानसँग १—१ गोलको बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेको खेलमा पोर्चुगलका लागि रिकार्डो क्वारेज्माले पहिलो हाफको ४५ औं मिनेटमा गोल गरे ।

दोस्रो हाफ सुरु भएको ८ मिनेटमा नै पोर्चुगलले पेनाल्टी पायो । इरानी डिफेण्डर मुर्तजा पोउरागिलान्जीले रोनाल्डोलाई डिबक्सभित्र फल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री भारले पोर्चुगलको पक्षमा पेनाल्टी करार गरेको थियो । तर, रियल मड्रिडका रोनाल्डोको प्रहार इरानी गोलरक्षक अलिरेजा बेइरानभान्डले उत्कृष्ट बचाउ गरेका थिए । 

खेलको इन्ज्यूरी समयमा इरानका करिम अन्सारीफार्डले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १—१ गोलको बराबरीमा पुर्याए । 

अब स्पेनले समूह ‘ए’ को उपविजेता रसियासँग तथा पोर्चुगलले ‘ए’ को विजेता उरुग्वेसँग क्वार्टरफाइनल प्रवेशको लागी प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?