फ्रान्सको लक्ष्य समूह विजेता बन्ने

रसिया । जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजराति समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्सले डेनमार्कको  तथा अस्ट्रेलियाले पेरुको सामना गर्दैछ ।

चारवटै खेल आजराति ७ः४५ बजेपछि सुरु हुँदैछ ।  पूर्व विश्व च्यामिपयन फ्रान्सले यसअघि नै नकआउट चरणको यात्रा तय गरिसकेको छ । पेरु लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ ।  अब अस्ट्रेलिया र डेनमार्क मध्ये १ टिम प्रि—क्वार्टरफाइनलमा पुग्नेछ ।

डेनमार्क विरुद्धको खेलमा जित दर्ता गराए फ्रान्स समूह विजेता बन्नेछ । दुवै टिम बलियो भएकाले खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । यता डेनमार्कको लक्ष्य भनेको नकआउट चरणसम्म पुग्नु हो । डेनमार्कले फ्रान्ससँग बराबरी गरेमात्र पनि अघिल्लो चरणको यात्रा तय गर्नेछ तर हार व्यर्होरेमा टिमको लक्ष्य पुरा हुनेछैन् ।

यसअघि भएको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २—१ गोल अन्तरले तथा दोस्रो खेलमा पेरुलाई १—० ले हराउँदै स्पस्ट ६ अंक जोडेको थियो । यता डेनमार्कले पेरुलाई १—० ले पराजित गरेको थियो भने अस्ट्रेलियासँग १—१ को बराबरी खेल्दै ४ अंक बनाएको थियो । डेनमार्क र फ्रान्स सन् १९९८ को विश्वकपमा आमने—सामने भएयता भिडेका छैनन् ।

त्यतिबेला भएको समूह चरणको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको थियो । 

त्यस्तै, आजैराति हुने अर्को खेलमा अस्ट्रेलियाले पेरुको सामना गर्दैछ । समूह ‘सी’ मा रहेको पेरु यसअघिका दुई खेलमा पराजित भएपछि विश्वकपबाट बाहिरिएको हो । सोचीस्थित फिष्ट रंगशालामा अष्ट्रेलियाबिरुद्ध उत्रँदा पेरु प्रतिष्ठाका लागि खेल्दैछ । तर, अस्ट्रेलियाका लागि भने यो खेल महत्वपूर्ण छ ।

आजरातिको खेलमा जित हात पारे अस्ट्रेलियाको नकआउट चरणको सम्भावना पेरुबिरुद्धको जितले कायम राख्नेछ । डेनमार्क फ्रान्ससँग पराजित हुँदा र अष्ट्रेलियाले पेरुलाई ठूलो गोलअन्तरमा हराउँदा अष्ट्रेलियाले प्रि—क्वार्टरफाइनलको यात्रा तय गर्नेछ । तर, त्यो सम्भावना निकै न्यून छ ।

अस्ट्रेलियाले समूहमा १ अंक मात्र जोडेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?