कांग्रेसले विरोध गरेपछि प्रदेश नम्बर ५ को बैठक रोकियो

-कपिल अधिकारी

बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको आज दिउँसो बस्ने भनिएको बैठक दुई पटकसम्म सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको छ ।

सहमतिअनुसार विनियोजन विधेयक नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठक चल्न नदिने संकेत शुरुमै गरेपछि सवा २ घण्टासम्म बैठक शुरु नै हुन सकेन । त्यसपछि चार बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको बैठक फेरि सवा ४ बजे अर्को सूचना टाँस गरी भोलि मध्यान्ह १२ बजेसम्मका लागि स्थगित गरिएको छ ।

बजेट समावेशी र सन्तुलित नभएको भन्दै असार ४ गतेको प्रदेश सभा बैठक अवरुद्ध गरेका प्रमुख प्रतिपक्षी दल काग्रेससंग आर्थिक मामिला तथा योजना मन्त्रिको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री. शंकर पोखरेलले विनियोजन विधेयक आउँदा प्रतिपक्ष दलले उठाएका बिषय पनि समेटिने आश्वासन अनौपचारिक बैठकमा  दिनु भएपछि असार ५ गतेको प्रदेश सभा बैठक शुरू भएको थियो ।

आफूहरुले उठाएका बिषय विनियोजन विधेयकमा समावेश नभएको र मुख्यमन्त्रीले दिएको आश्वासन नसमेटिएकाले आजको बैठक चल्न नदिने संकेत आफूहरुले सभामुखलाई दिएको काग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए ।

काग्रेसले बैठक अवरुद्ध पार्ने संकेत दिएपछि सभामुख पूर्णबहादुर घर्तीको पहलमा मुख्यमन्त्री पोखरेल, काग्रेस नेता शर्मा लगायतका सत्तापक्ष र प्रतिपक्षका नेताहरुबीच छलफल भएपनि सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?