फ्रान्स समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा

रसिया । पूर्व विश्वविजेता फ्रान्स जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ । 

लुज्निकी स्टेडियममा मंगलबारराति सम्पन्न भएको समूहको अन्तिम खेलमा फ्रान्सले डेनमार्कसँग गोलरहित बराबरी खेल्यो । बराबरी पछि समान १—१ अंक बाडेको फ्रान्स समूहको विजेता बन्दै प्रि—क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यता डेनमार्क उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

फ्रान्सले ७ अंक बनाएको छ भने डेनमार्कको ५ अंक छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा डेनमार्कमाथि हाबी भएको फ्रान्सले प्रहार गरेको बल डेनमार्कका गोलरक्षक कास्पेरले विफल पारिदिएका थिए ।

रोमाञ्चक खेलको निर्धारित ९० मिनेटको समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल गोलरहित बराबरीमा सकियो । जारी विश्वकप फुटबलमा गोल रहित बराबरीमा रोकिएको यो पहिलो खेल हो । यसअघि भएको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २—१ गोल अन्तरले तथा दोस्रो खेलमा पेरुलाई १—० ले हराएको थियो ।

यता डेनमार्कले पेरुलाई १—० ले पराजित गरेको थियो भने अस्ट्रेलियासँग १—१ को बराबरी खेलेको थियो । 

त्यस्तै, मंगलबारराति नै भएको अर्को खेलमा पेरुले अस्ट्रेलियालाई २—० गोल अन्तरले पराजित गरेको छ ।

फिष्ट रंगशालामा भएको खेलमा पेरुले अस्ट्रेलियालाई खेल अबधिभर दबावमा राखेको थियो । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको पेरुका लागी खेलको १८ औं मिनेटमा कारिल्लो र ५० औं मिनेटमा पाउलो गुइरेर्रोले समान १—१ गोल गरेका थिए ।

समूहको अन्तिम खेलमा जित हात पारेको पेरुले ३ अंक बनाएको छ । १ अंक मात्र जोडेको अस्ट्रेलियाको भने विश्वकप यात्रामा पूर्णविराम लागेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?