बाजुरामा सेनाद्वारा सैनिक पदमार्ग निर्माण

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ । 

बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिए । 

नगरपालिकाको दुई लाख रूपैयाँ आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट दुई लाख  रूपैयाँअपुग भएको सेनाले बताएको छ। 

करीब पाँच लाख रूपैयाँसम्म लाग्ने उक्त मार्गमा नेपाली सेनामा कार्यरत जवानले करीब तीन लाख रूपैयाँ बराबरको श्रमदान गरेका छन् । पदमार्ग मार्तडी—कोल्टी सडकबाट नेपाली सेनाको प्रवेशद्वारसम्म निर्माण गरिएको छ । 

उक्त क्षेत्रमा आवतजावत गर्न स्थानीयलाई असहज हुन थालेपछि नेपाली सेनाको आग्रहमा नगरपालिकाले दुई लाख रूपैयाँ रकम निर्माण कार्यमा सहयोग गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए

सैनिक पदमार्ग निर्माण गरेपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?