डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपबाट बाहिरियो

रसिया । साविक विश्वविजेता जर्मनी जारी फिफा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । 

काजान स्टेडियममा बुधबारराति भएको समूह ‘एफ’ को अन्तिम खेलमा एसियाली महाराष्ट्र दक्षिण कोरियासँग २—० गोल अन्तरले पराजित हुदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । सन् २०१४ को विश्वकपको उपाधि जितेको जर्मनीले रसिया विश्वकपमा भने नकआउट चरण पनि पार गर्न सकेन् । कोरियाका लागि खेलको इन्ज्यूरी समयको दोस्रो मिनेटमा किम योंग गोनले गोल गरे ।

त्यस्तै, खेल सकिनै लाग्दा सन ह्यु.ग मिनले गोल गर्दै दक्षिण कोरियालाई जित दिलाए । जितपछि ३ अंक जोडेको कोरिया यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । 
त्यस्तै, स्वीडेन समूह ‘डी’ विजेता तथा मेक्सिको उपविजेता बन्दै प्रि—क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबारराति नै भएको खेलमा स्वीडेनले मेक्सिकोलाई ३—० गोल अन्तरले हराउँदै समूह विजेता बनेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफ सुरु भएको ५ मिनेट पनि बित्न नपाउँदै स्वीडेनका लागी लुडविक अगुस्टिसनले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।

त्यस्तै, ६२ औं मिनेटमा आन्द्रेस ग्रानक्भिस्टले पेनाल्टी मार्फत गोल गरे । यता ७४ औं मिनेटमा मेक्सिकोका एड्सन एल्भारेजले आत्मघाती गोल गरे । त्यसपछि खेल थप गोल भएन् र खेल स्वीडेनले ३—० ले आफ्नो पक्षमा पार्यो । जितपछि ६ अंक बनाएको स्वीडेन गोल अन्तरको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको हो ।

मेक्सिकोले पनि ६ अंक नै बनाएको छ । सन् २००६ को विश्व विजेता इटली २०१० मा, २०१० को विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै घर फर्किएका थिए । त्यस्तै सन् १९९८ को विश्वकप विजेता फ्रान्स पनि सन् २००२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?