अन्तिम १६ मा पुग्ने जापानको लक्ष्य

रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजसाँझ एशियाली राष्ट्र जापानले पोल्यान्डको सामना गर्दैछ । 

भोल्गोग्राड रंगशालामा हुने समूह ‘एच’ को जापान र पोल्यान्डविचको खेल नेपाली समयअनुसार आजसाँझ ७ः४५ बजेपछि सुरु हुँदैछ । समूहको शीर्ष स्थान कब्जा गरेको जापानले यसअघिका दुई खेलमा एकमा जित र एक बराबरी गर्दै ४ अंक जोडेको छ ।

उच्च मनोबल लिएर मैदानमा उत्रने तयारी गरिरहेको जापान अन्तिम १६ मा प्रवेश गर्ने दाउँमा रहेको छ । समूहमा खेलेको दुवै खेलमा पराजय भोगेको पोल्यान्डका लागि आजको खेल प्रतिष्ठाको लागि मात्र हो ।

अंक तालिकामा ४ अंक जोडेको जापान, ४ अंक नै जोडेको सेनेगल र ३ अंक मात्र जोडेको कोलम्बिया मध्ये २ टोली मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ भने एक टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

 यस अघि सम्पन्न पहिलो खेलमा जापानले कोलम्बियालाई २—१ गोलले हराएको थियो भने दोस्रो खेलमा सेनेगलसँग २—२ गोलको बराबरी गरेको थियो । पोल्यान्डविरुद्धको खेलमा जापानले जित हात पारे समूह विजेता बन्ने मौका प्राप्त गर्नेछ ।

यता बराबरी मात्र गरेपनि जापानले इतिहासमा तेस्रो पटक विश्वकपको प्रि—क्वार्टरफाइनलमा स्थान बनाउँनेछ । 

त्यस्तै, पोल्यान्डको भने जारी विश्वकपका निकै फितलो र कमजोर प्रर्दशन गरेको छ । घरेलु समर्थकबाट निक्कै आलोचना खेपिरहेको पोल्यान्ड समूह चरणको खेलमा सेनेगल र कोलम्बियासँग पराजित भएको थियो । जापान र पोल्यान्ड अहिलेसम्म २ पटक मात्र आमने—सामने भएका छन् ।

सन् १९९६ मा भएको खेलमा जापानले पोल्यान्डलाई ५—० को भारी गोल अन्तरले हराएको थियो भने २००२ मा भएको खेल जापानले २—० ले जित आफ्नो पक्षमा पारेको थियो । 

 

त्यस्तै, आजै साँझ हुने अर्को खेलमा सेनेगलले कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ । ४ अंक सहित सेनेगल तालिकाको दोस्रो स्थानमा छ भने कोलम्बिया ३ अंक सहित तेस्रो स्थानमा छ ।

जसले गर्दा आजसाँझको खेलमा सेनेगललाई बराबरीले प्रि–क्वार्टरफाइनलको टिकट काट्दा कोलम्बियालाई भने जित्नै पर्ने दबाब छ ।

यस समूहमा जापान ४ अंकसहित शीर्ष स्थानमा छ । यता जापानले पोल्याण्डसँग पराजय व्यहोरेमा, सेनेगल र कोलम्बिया बराबरी खेलेपनि दुवै टोली नकआउट चरणमा पुग्नेछन् । सन् २००२ को विश्वकप पछि पहिलो पटक छनोट भएको सेनेगलले समूह चरणमा पोल्याण्डलाई पराजित गर्दा जापानसँग भने २–२ गोलको बराबरी खेलेको थियो ।

सन् २००२ को विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गरेको सेनेगल आजसाँझको खेलमा निकै हाबी हुने देखिएको छ ।

सेनेगल र कोलम्बियामध्ये कुन टिमले अघिल्लो चरणको यात्रा तय गर्नेछ त्यो भने आजसाँझको खेल प्रश्चात मात्र थाहा हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?