काठमाडौंमा कुन देशका जर्सी बढी बिक्छन्? मेस्सी र रोनाल्डोभन्दा नेयमार अघि (भिडियो)

काठमाडौं । रसियामा भइरहेको विश्वकपको माहोलले खासगरी नेपालका शहरी क्षेत्रलाई उल्लासमय बनाएको छ । सार्वजनिक सवारीदेखि चिया गफसम्म फिफा विश्वकपकै चर्चा चलिरहेको छ ।

यतिसम्म कि, विश्वकपले सरकारी बजेट, फिल्म, केपी ओलीको चीन भ्रमणजस्ता महत्त्वपूर्ण विषय पनि ओझेलमा पारेको छ ।

अर्कातिर गाउँगाउँमा यतिबेला असारमा धान रोप्नेको चटारो पनि उत्तिकै बढेको छ । गाउँ घरतिर खासै चासोको विषय नभएपनि शहरी क्षेत्रमा भने विश्वकप धेरैलाई लागेको छ ।

त्यसो त, विश्वकपको रौनकले यतिबेला पूरै विश्वको ध्यान तानेको छ ।

विश्वकपको यही माहोलले व्यापारीलाई पनि छोएको छ । खासगरी खेलकुद र कपडा पसलका व्यापारीले खेलका जर्सी बिक्री गरिरहेका छन् ।

यसपटकको विश्वकपमा एउटा फरक के छ भने, धेरैलाई जुन टिमले जित्छ भन्ने लागेको थियो, त्यो टिमलाई जित्न निकै मुस्किल परेको छ । फुटबलका माध्यमबाट विश्वभर फ्यान कमाएका जर्मनी, अर्जेन्टिना, ब्राजिल, इटाली, पोर्चुगलजस्ता देशलाई नयाँ देशले दबाबमा राखेका छन् ।

झण्डै बाहिरिने स्थितिमा पुगेको अर्जेन्टिनी टिम नकआउट चरणमा त पुगेको छ तर सन् २०१४ मा विश्वकप जितेको जर्मनी भने समूह चरणबाटै ‘आउट’ भएको छ ।

खेलमा जुन टिमले राम्रो गर्छ भनेर आशा गरिएको थियो, कपडा व्यापारीले जर्सी पनि त्यही अनुसारका खरिद गरेका थिए । तर, खेलमा ठ्याक्कै उल्टो पासा पल्टिँदा स्टकमा रहेका जर्सी बिक्री हुन गाह्रो पर्ने देखिएको छ ।

त्रिपुरेश्वरको आफ्नो पसलमा जर्सी विक्री राखेकी लक्ष्मी श्रेष्ठले अहिले फ्यानले नयाँ देशका टिमको जर्सी खोज्न थालेको बताउँछिन् । तर नयाँ टिमका जर्सी भने काठमाडौंमा खासै पाइँदैनन् । ‘पहिले अर्जेन्टिनाको जर्सी बढी बिक्री हुन्थ्यो, अहिले कम बिक्री हुन थालेको छ, अहिले बढी बिक्री हुने भनेको ब्राजिलको जर्सी हो’, लोकपथसँग कुराकानीमा श्रेष्ठ थप्छिन्, ‘बरु यसपटक त नयाँ जर्सीको डिमाण्ड भएको छ, तर हामीकहाँ छैन ।’

मनाङका रवि गुरुङ पनि अहिले ब्राजिलको जर्सी नै बढी विक्री भएको बताउँछन् । ब्राजिल, जर्मनी, पोर्चुगल, अर्जेन्टिना लगायतका केही सीमित देशका जर्सी बढी बिक्री भएपनि अहिले भने अर्जेन्टिनाका जर्सी तुलनात्मक रुपमा अलि कम बिक्न थालेको उनी बताउँछन् ।

‘जर्सी बिक्री खेलअनुसार फरक पर्छ, अस्तिको खेल (क्रोएसियासँग र अर्जेन्टिनाको खेल) मा हारेपछि खासै जर्सी बिकेको छैन’, उनी थप्छन्, ‘तर फ्यानहरु जर्सी किन्न आइरहेकै छन्, धेरैले त विश्वकप शुरु हुने बेलामा नै किनिसकेका हुन्छन् ।’

नेपालमा जर्मनी खेलाडीका टिम पनि कम छैनन् । 

सन् २०१४ मा विश्वकप जितेकाले पनि जर्मनीले धेरै नेपाली फ्यान कमाएको थियो । समूह चरणबाटै आउट भएपछि भने जर्मनीका जर्सी कम बिक्री हुन थालेको विक्रेता बताउँछन् ।

विश्वकपलाई टार्गेट गरेर जर्सी बेच्दै आएका सामाखुशीका सनम पुरीले जर्सी किन्न आउनेमा धेरै युवापुस्ता र केटाकेटी रहेको बताउँछन् । आफूलाई ब्राजिलका फ्यानसमेत बताउने उनी सबैभन्दा धेरै ब्राजिलकै जर्सी बिक्री भएको बताउँछन् । साथै उनले अर्जेन्टिना, पोर्चुगल, जर्मनी, स्पेनका जर्सी पनि राम्रै विक्री भइरहेको बताउँछन् । ‘अर्जेन्टिनाले कमजोर खेलले हामीलाई घाटा भएको छैन ।’, उनी भन्छन् ।

खासगरी काठमाडौंमा खेलाडीका नाम राखिएका जर्सी बढी बिक्री हुने गरेको पाइएको छ । त्यसमाथि पनि सबैभन्दा धेरै नेयमार लेखिएका जर्सी बिक्री हुने गरेका छन् । त्यस्तै मेस्सी र रोनाल्डोका नामका जर्सी पनि उत्तिकै बिक्री भइरहेको विक्रेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?