‘रातो किताब’ माथि कांग्रेस सांसदले प्रश्न गरेपछि कर्णालीको संसद बैठक स्थगित

-युवराज पंगाली

सुर्खेत । कर्णाली प्रदेशको बिहीवारको संसद बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि विना निष्कर्ष बैठक स्थगित भएको हो ।

सांसद एवम् नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले रातो किताबमा समावेश गरिएको बजेटमाथि प्रश्न गरेर विरोध जनाएपछिसंसद अवरुद्ध भएको हो ।

कर्णाली प्रदेश विनियोजन विधेयक माथि दफावार छलफलका लागि आह्वान गरिएको बिहीबारको प्रदेशसभा बैठकको शुरुमै नेता शाहीले रातो किताबका नामले चिनिने बार्षिक विकास कार्यक्रममाथि प्रश्न उठाई विरोध जनाएका थिए ।

कर्णाली प्रदेश विनियोजन विधेयक २०७५ अन्तर्गत सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश सभा सचिवालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतका शीर्षकहरुमा दफावार छलफल गर्न आह्वान गरिएको थियो । 

संसद बैठकमा बोल्दै नेता शाहीले रातो किताबमा केन्द्र सरकारले दिने सशर्त अनुदानका कुराहरुलाई नै गोलमोटोल गरेर प्रदेश सरकारले प्रकाशन गरेको भन्दै त्यसको विरोध गरेका हुन् । दफावार छलफलका लागि छुट्याइएका मन्त्रालयका कामहरु नै जनता झुक्याउने खालको भएको भन्दै नेता शाहीले यस हिसाबले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउन नसकिने बताए ।

बजेट वक्तव्यमा किटान गरेका नामहरु समेत रातो किताबमा समावेश नगरिएको उल्लेख गर्दै नेता शाहीले प्रदेश प्रहरी गठन र भौतिक पूर्वाधार निर्माण शीर्षकमा २५ करोड बजेट छुट्याइएकोमा त्यो दुविधायुक्त भएको बताए । मन्त्रालयका लागि खरिद गर्न लागिएको ल्याण्ड रोवर गाडी खरिदका लागि ६ करोड ५० लाख रुपैयाँ छुट्याइनु आफैमा शंकास्पद भएको उल्लेख गर्दै मन्त्री शाहीले शान्ति सुरक्षा अभियान, गाडी खरिद लगायतका शीर्षकमा उल्लेख गरेको शीर्षकले प्रदेशलाई घाटातर्पm लैजाने र भ्रष्टाचार हुने बताए ।

नेता शाहीले रातो किताबमा प्रश्न गरेपछि संसद बैठक नै अवरुद्ध भई अनिश्चित कालका लागि स्थगित भएको हो । रातो किताबमाथि छलफल गर्न बिहीबार र शुक्रबार संसद बैठक बोलाइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?