रसिया । कोलम्बिया र जापान जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
सामरा एरिनामा बिहीबारराति सम्पन्न भएको समूह ‘एच’ को खेलमा कोलम्बियाले सेनेगललाई १—० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । जितसँगै ६ अंक बनाएको कोलम्बिया समूहको शिर्ष स्थानमा रहदै अघिल्लो चरणमा पुगेको हो ।
यता पोल्यान्डसँग १—० ले पराजित भएको एसियाली राष्ट्र जापान पनि प्रि—क्वाटरफाइनलमा प्रवेश गर्यो । जापान र सेनेगलले समान ४—४ अंक बनाएको छ । दुई पहेँलो कार्ड कम खाएका कारण जापानको भाग्य चम्किएको हो । जापान फेयर प्ले प्वाइन्टको आधारमा नकआउट चरणमा पुगेको हो ।
गोल डिफसेन्स पनि समान भएका कारण कार्डका आधारमा जापान अघिल्लो चरण जाने टोली बन्यो । जापानले चार वटा मात्र पहेँलो कार्ड पाएको थियो भने सेनेगलले ६ वटा पाएको थियो । त्यही २ वटा बढी पहेँलो कार्ड सेनेगलका लागि विश्वकप यात्रामा बाधक बन्यो ।
यता कोलम्बिया र सेनेगलविचको पहिलो हाफको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।
कोलम्बियाका लागी खेलको ७४ औं मिनेटमा यरि मिनाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । निर्धारित ९० मिनेटको समयसम्म सेनेगलले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेल १—० ले हार्यो । हारसँगै सेनेगल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
त्यस्तै, बिहीबारराति नै भएको अर्को खेलमा जापान प्रतियोगिताबाट बाहिरिसकेको पोल्यान्डसँग १—० ले पराजित भयो ।
भोल्गोग्राड रंगशालामा भएको समूह ‘एच’ को खेलमा जापान पोल्यान्डसँग पराजित भएपनि अघिल्लो चरणमा पुगेको हो । जापानले विश्वकपमा इतिहास रच्दै तेस्रो पटक प्रि—क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पोल्यान्डका लागि ५९ औं मिनेटमा जान बेडनारेकले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया