सामुदायिक लघुवित्त संस्था काभ्रेमा साढे दुई करोड घोटाला, सीइओसहित चार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामुदायिक लघुवित्त वित्तिय संस्था साँगा, काभ्रेमा भएको २ करोड ५० लाख घोटालामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था साँगा, काभ्रेको सञ्चालक समिति र तत्कालीन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा २ करोड ५० लाख भन्दा बढी घोटाला गरेको आरोपमा अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा तत्कालीन सीइओ स्वयम्भु राम जोशी, सञ्चालक समितिका अध्यक्ष हिरा विश्वकर्मा तथा सदस्य चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की रहेका छन् । 

ब्यूरोको अनुसन्धानले तत्कालीन सीइओ जोशीको आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति बिना मिलोमेतोमा गुडविलको रुपमा भन्दै २ करोड ५० लाख रकम प्रवाह गरेको देखाएको छ ।

यस्तै, उनले राष्ट्र बैंकको नीति निर्देशन तथा ऐन कानुन विपरीत तलब भत्ता लगायतको विभिन्न शीर्षकमा आफू खुसी ७ लाख ४४ हजार भन्दा बढि भुक्तानी लिएको र जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा सञ्चालक समितिले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको गरेको उल्लेख छ ।

उनीहरुलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?