-युवराज पंगाली
सुर्खेत । समृद्ध समाज निर्माणका लागि आपराधिक मनस्थिति समाप्त हुनुपर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।
महिला तथा बालबालिका सेवा केन्द्र सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।
महानिरीक्षक खनालले प्रहरी मातहतको पीडित महिलालाई तथा बालवालिकाहरुलाई माइती र अभिभावकको स्थानमा रहेर सेवा गर्न ‘महिला तथा बालवालिका सेवा केन्द्र’लाई आग्रह समेत गरे ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले महिलामाथि हुने अन्याय राष्ट्रमाथिकै अन्यायसरह भएको भन्दै उनीहरुलाई न्याय दिलाउन तत्परताका साथ लाग्न निर्देशन दिए ।
पीडा लिएर प्रहरीमा न्याय माग्न आउने महिलाहरुलाई सुखी महसुश गर्नेगरी न्याय दिलाउँदै विदा गर्न समेत उनले निर्देशन दिएका छन् ।
गम्भीर प्रकृतिका हिंसाका घटना तथा बलात्कारका घटनामा मिलापत्र गर्न नहुनेमा जोड् दिँदै खनालले पहुँच र पँैसाका भरमा यस्ता घटनामा मिलापत्र हुने अपराध भएको उनले उल्लेख गरे ।
समृद्ध समाज निर्माणका लागि आपराधिक मनस्थिति समाप्त हुनुपर्ने महानिरीक्षक खनालको भनाइ थियो ।
प्रहरीको अपराध अनुसन्धान विभागका धिर बस्नेतले कर्णाली प्रदेशमा व्याप्त बहुविवाह, जबरजस्ती करणीका घटनाहरुलाई नियन्त्रण गर्नेगरि प्रहरीले काम गर्नुपर्नेमा जोड् दिए ।
नेपाल सरकार र एशियाली बैंकको आर्थिक सहयोगमा सुर्खेतमा महिला तथा वालवालिका सेवा केन्द्रको भवन निर्माण गरिएको छ । एक करोड ३९ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । हिंसा पीडित महिला तथा बालवालिकालाई कानूनी उपचार दिन सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया