प्रदेश नं ७: बजेटमाथिको छलफल स्थगित

धनगढी । प्रदेश नं ७ को आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिने अधिकांश सदस्यले आआफ्नो निर्वाचन क्षेत्रका योजना बजेटमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

बैठकमा सत्ता पक्षका सदस्यले आव २०७५/०७६ को बजेटको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । सत्ता र प्रतिपक्ष कतिपय सदस्यले भने बजेटले आआफ्नो निर्वाचन क्षेत्रका योजनालाई सम्बोधन नगरेको तथा सम्बोधन भएका योजनामा पनि न्यून बजेट विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रतिपक्षका सदस्यले बजेटका विषयमा प्रतिपक्षीसँग भएको सहमति कार्यान्वयन गर्न माग गरे ।

प्रतिपक्षी सदस्यहरुले संघीय संसद्मा सत्तापक्षकै सांसदद्वारा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयताको मर्म र भावना विपरीत रहेको भन्दै आपत्ति जनाए । आजको बैठकमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कृष्णराज सुवेदी, माया तामाङ, नन्दबहादुर साउद, कुलवीर चौधरी, हर्कबहादुर कुँवर, चुनकुमारी चौधरी, मानबहादुर धामी, प्रकाश रावल र दुर्गाकुमारी विक तथा प्रतिपक्षका डा रणबहादुर रावल, नन्दा बम, कर्णबहादुर मल्ल, देवराज पाठक, गोविन्दराज बोहरा र उमाकुमारी बादीले भाग लिएका थिए । प्रदेश सभाको अर्काे बैठक यही असार १६ गते बिहान ८ बजे बस्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?