रसिया । जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज साँझ स्पेनले रसियाको सामना गर्दैछ ।
लुज्निकी स्टेडियममा नेपाल समयअनुसार आज साँझ पौने ८ बजे हुने खेलमा सन् २०१० को विश्व विजेता स्पेनले आयोजक राष्ट्र रसियासँग प्रतिस्पर्धा गर्दैछ । स्पेनले समूह चरणमा आश्चर्यजनक रुपमा इरान र मोरक्कोविरुद्ध गर्नुपरेको थियो । मोरक्कोसँगको खेलमा डेभिड डि जियाको गम्भीर त्रुटी गरे पनि डिएगो कोष्टाले स्पेनको उद्धार गरे ।
स्पेनले समूह चरणको पहिलो खेलमा पोर्चुगलसँग ३—३ गोलको बराबरी गरेको थियो भने दोस्रो खेलमा इरानलाई २—० ले हराएको थियो । समूहको अन्तिम खेलमा स्पेनले मोरक्कोसँग २—२ गोलको बराबरी गर्दै ५ अंक बनाएको थियो । स्पेन समूह ‘बी’ को उपविजेता बन्दै प्रि—क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
यता सुरुवाती दुई खेलमा साउदी अरेबिया र इजिप्टबिरुद्ध शानदार देखिएको रसियाले आफ्नो वास्तविक परीक्षा अर्थात उरुग्वेबिरुद्धको खेलमा खरो उत्रन सकेन । विशेष गरी टिममा त्यस्ता जिम्मेबार प्रतिभा देखिएनन् जसले दवाव थेग्न सकुन् ।
रसियाले समूह चरणको पहिलो खेलमा साउदी अरेबियालाई ५—० को र दोस्रो खेलमा इजिप्टलाई ३—१ को शानदार जित दर्ता गराएको थियो । समूहको अन्तिम खेलमा उरुग्वेसँग पराजित हुँदै रसिया समूह ‘ए’ को उपविजेता बनेको थियो ।
समूह चरणको अन्तिम खेलमा उरुग्वेसँग पराजित भएपछि कमजोर मनोबल भएको रसियालाई पराजित गर्ने स्पेनको दाउ रहेको छ । स्टार खेलाडीहरुले भरिएको स्पेनिस टिम उच्च मनोबल लिएर मैदानमा उत्रदैछ ।
३२ वर्ष पछि पहिलो पटक नकआउटमा चरणमा पुगेको रसियाले आजको खेल जित्ने मनोस्थितीमा रहेको बताइएको छ ।
सोभियत संघ टुक्रिएपछि रसियाले स्पेनलाई अहिलेसम्म हराउन सकेको छैन । ६ पटकको भेटमा रसियाले २ बराबरी र ४ मा हार व्यहोरेको छ । सन् २०१७ को नोभेम्बरमा सम्पन्न मैत्रिपूर्ण खेलमा स्पेन र रसियाले ३–३ गोलको बराबरी खेलेको थियो ।
यता स्पेन पछिल्लो २३ खेलदेखि अपराजित छ । स्पेनले १५ खेलमा जित र ८ मा बराबरी गरेको छ । जुन, विश्वकपमा सहभागी ३२ टोलीमध्ये सबैभन्दा धेरै हो । स्पेनले सन् २०१६ को युरोकपको नकआउट चरणमा इटलीसँग २–० ले पराजित भएयता एउटा खेल पनि हारेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया