काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यत्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ ।
भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै महानायक हमालले आफु गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफुले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको बताए ।
कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफुले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए ।
नायक हमालले भने , ’कुनै नराम्रो शहरमा पनि केहि न केहि सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केहि पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थान समेत छैन । यसतर्फ कसैको ध्यान छैन । केहि न केहि त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ’।
कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफुलाई पहिले थाहा नभएको बताईन् । गीत हेर्दा रमाईलो लागेको बताउँदै उनले यो गीत गाउन आफुले प्रेरित गरेको सुनाईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया