कपिलवस्तुमा २२ किलो चरेस र १३ लाख भारतीय नोट बरामद

शम्भू माली कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले २२ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ । 

शनिबार राती ११ बजे विशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा प्रदेश ५ को प्रहरी अनुसन्धान समूहको टोली तथा वडा प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले शिवराज नगरपालिका १ उमरी चोकमा रा ३ प २३४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ५५ पोका चरेर फेला पारेको हो । 

पक्राउ पर्नेमा रोल्पा थवाङ्ग घर भई उमरी बस्दै आएका राश कुमार रोका, दाङ्ग तुल्सीपुरका आशिष खड्का र किरण प्रकाश बम रहेका छन् । पक्राउ तीनै जनालाई लागूऔषध कारोबार ऐन अन्र्तगत मुद्दा चलाइने प्रहरी उपरीक्षक मनोज यादवले जानकारी दिए । 
 
यसैबिच अवैध रुपमा भारतीय नोट नेपाल भित्र्याउँदै गर्दा आइतबार बिहान कपिलवस्तु प्रहरीले सीमा क्षेत्र कृष्णनरबाट २ जनालाई पक्राउ गरेको छ । 

एचआर ०८ एक्स ६०८८ नम्बरको कार भारतीय सीमानाबाट नेपाल आउने क्रममा प्रहरीले चेकजाँच गर्दा चालक भारत तर्फ भागेपछि प्रहरीले शंका लागि खानतलासी गर्दा उक्त नोट बरामद गरेको थियो । 

सो क्रममा फल्स बटम बनाई सीट मुनी लुकाइ राखेको २ हजार तथा ५ सय का १३ लाख १३ हजार ६ सय भारतीय नोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका हुण्डी कारोबारी हुन सक्ने र उनीहरु विरुद्ध विदेशी मुद्रा ओसारपसार तथा अपचलन ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।  

पक्राउ पर्नेमा भारतीय नागरिक राजेन्द्र जाट र नेपाली नागरिक कैलालीका महेन्द्र ओझा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?