रसिया । जारी २१ औं चरणको फिफा विश्वकप फुटबल अन्तर्गत आजराति प्रि—क्वार्टरफाइनलको अन्तिम खेलहरु हुँदैछ ।
अहिले सम्म भएका ६ वटा नकआउट खेलमा जित दर्ता गराउँदै पूर्व विश्वविजेता फ्रान्स, उरुग्वे, रसिया, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वार्टरफाइनल पुगिसकेका छन् । यता सन् २०१० को विश्व च्याम्पियन स्पेन, पोर्चुगल, अस्ट्रेलिया, डेनमार्क, मेक्सिको र जापान भने प्रि—क्वार्टरफाइनलबाटै बाहिरिसकेका छन् ।
आजराति हुने अन्तिम १६ को खेलमा इंग्ल्याण्डले कोलम्बियाको सामना गर्दैछ । यि दुई टिमविचको खेल मस्कोस्थित स्पार्टक स्टेडियममा नेपाली समयअनुसार आजराति पौने १२ बजे पछि शुरु हुँदैछ ।
प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा रहेको इंग्ल्यान्डले जारी विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेको छ । कोलम्बियाविरुद्धको खेलमा जित दर्ता गराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गर्न चाहन्छ । इंग्ल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । इंग्ल्याण्डले समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २—१ ले तथा दोस्रो खेलमा पानामालाई ६—१ ले हराएको थियो ।
यता अन्तिम खेलमा बेल्जियमसँग १—० ले पराजित भएसँगै ६ अंक बनाएको थियो । इंग्ल्यान्डले १२ वर्षयता नकआउट चरणमा जित निकाल्न सकेको छैन् । समूहको उपविजेता बन्नु अर्थ इंग्ल्यान्डका लागि अबको बाटो केही सजिलो हुनु हो । अहिले तत्काल भने इंग्ल्याण्डसामु बलियो प्रतिद्धन्दी छ । सन् २०१४ मा गोल्डेन बुटको उपाधि समेत जितेका प्रतिभावान खेलाडी हामेस रोड्रिग्वेज अहिले चोटबाट गुज्रिरहेका छन् र उनले खेल्न–नखेल्ने तय भएको छैन ।
यता कोलम्बियाका लागि राडामेल फाल्काओ महत्वपूर्ण खेलाडी हुन् । फाल्काओले म्यानचेस्टर युनाइटेड र चेल्सीका लागि इंग्लिस प्रिमियर लिगमा खासै राम्रो गर्न नसके पनि उनी राम्रा ‘फिनिसर’ प्लेयर हुन् । जारी विश्वकपमा ५ गोल गरिसकेका कप्तान ह्यारी केन पनि इंग्ल्याण्डका भरपर्दा खेलाडी हुन् ।
उनले आजरातिको खेलमा उत्कृष्ट लयलाई निरन्तरता दिने बताइएको छ । केनले गरेको गोल यस विश्वकपमा अहिलेसम्मकै उच्च गोल हो । त्यस्तै विंगर हुँवा क्वाड्राडोले पनि चेल्सी छँदा राम्रो गर्न सकेनन् तर युभेन्ट्स र अहिले जोसे पेकरमनको कोलम्बियाली टिमका लागि भने उनले उत्कृष्ट खेल खेलिरहेका छन् ।
इंग्ल्याण्ड र कोलम्बिया अहिलेसम्म ५ पटक आमने—सामने भएका छन् । जसमा इंग्ल्याण्डले ३ मा जित र २ मा बराबरी खेलेको छ । पछिल्लो पटक सन् २००५ मे ३१ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डले कोलम्बियालाई ३—२ गोलले पराजित गरे यता छैँटो पटक विश्वकपमा दुवै टिम भिड्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया