खुला दिशामुक्त जिल्लाको सूचीमा सुनसरी थपियो

इटहरी : सुनसरीलार्इ खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । यो संगै नेपालमा खुला दिशामुक्त जिल्लाको संख्या ५६ पुगेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश नं १ का वन, पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियत र खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक मनोज घिमिरेले संयुक्तरुपमा जिल्लालाई खुला दिसामुक्त भएको घोषणा गरेका हुन् ।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरी, सुनसरी, स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समिति र युएन ह्याविट्याटको सहयोगमा नारी विकास संघ, प्रयास नेपाल लगायत दर्जनभन्दा बढी गैरसरकारी संस्थाको सक्रियतामा सुनसरी जिल्लाका एकलाख ४४ हजार ३४७ घरमा सबैले चर्पी निर्माण गरेर प्रयोग गरेको अनुगमन प्रतिवेदनले देखाएपछि यस जिल्लालाई खुला दिसामुक्त घोषित गरिएको हो ।

साथै, सोही समारोहमा जिल्लालाई खुला दिसामुक्त घोषित गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्नुहुने ललिता लम्साल, सुजाता शाक्य, मुनु सिलवाल र तारा कार्कीलगायतलाई पनि विशेष सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?