एघार वर्षीय सरोज खड्का (नाम परिवर्तन) का आँखामा ग्लानि झल्किन्थ्यो ।
मैले भाइ… भा…. भा… ऊ घाँटी तन्काउँथ्यो तर आवाज निस्किँदैनथ्यो ।
नजिकै आमा मुर्छा परेकी थिइन् ।
छेउमै सरोजका बा टोपी खोलेर निन्याउरो मुख पारेर थचक्क बसेका थिए । छेउमा आमा टोलाएकी थिइन् ।
मैले उसलाई पि…..(लामो श्वास तानेर) …टेको । ऊ बोल्यो ।
‘कहाँ पिटेको देखाऊ ।’ – पुलिसले सोध्यो ।
यहाँ सरोजले आफ्नै घाँटीमा हात अठ्याएर उदाहरण दिँदै भन्यो ।
यहाँनिर प्रहरीले सरोजका घाँटीमा निहुरिएर हात पुर्यायो र गर्दनमा चोर औँलाले छोयो ।
उसका आँखाबाट लगातार आँसु खसिरहेका थिए ।
एकैछिनमा गाउँले र छिमेकीले प्रहरी चौकीमा जम्मा भए । प्रहरीले केहीलाई भित्र नछिर्न आग्रह ग–यो । केही गाउँले भने सरोजका परिवारका वरिपरि निराश हुँदै बसेका थिए ।
‘तिमीले साँचो बोल्यौ भने चकलेट दिन्छु ।’, प्रहरीले सान्त्वना दिए ।
एघार वर्षको सरोजले चकलेट भनेपछि बोल्न मुख खोल्यो तर उसका आँसु रोकिएका थिएनन् । एकैछिनमा फेरि मुख बन्द ग–यो । केही बोलेन ।
भाइलाई के गरेको तिम्ले लु भन त । महिला प्रहरीले उनलाई फकाउँदै सोधिन् ।
सरोजले इमान्दार हुँदै कुरा मोड्न खोज्यो – ‘नाइँ, केही गरेको छैन के ।’
बर्दीमा भएकी महिला प्रहरीले अलिक ठूलो स्वरमा भनिन्, ‘साँचो कुरा भन्यौ भने मात्र तिमीलाई केही गर्दिन, नत्र पिट्छु है ।’
अलिकति भय र थोरै विश्वाससहित सरोजले भन्यो – ‘मैले मारें ।’
‘कसरी ?’, नजिकै कुरा सुनिरहेका असई कलम घुमाउँदै बोले ।
‘घाँटी थिचेको बेस्सरी, पछि बोलाउँदा नि बोलेन ।’
‘किन थिचेको घाँटी ?’
‘मेरो टिफिन खाइदिन्थ्यो । ममी पनि त्यसलाई मात्रै माया गर्ने ।’, ऊ पिन्चे अनुहारमा फेरि बोल्यो ।
एकछिन सुनसान भयो प्रहरी चौकी ।
केरकार चलिरह्यो ।
भेला भएकाहरु कानेखुसी गर्न थाले ।
आमा उस्तै बेचैनीमा थिइन् ।
बाबु घुक्क घुक्क गर्थे ।
भाइको अनुहारमा बाबुले नै ‘केक’ दलेको हो?
‘हो । मैले हो । त्यसको मात्रै ह्याप्पी बर्थडे किन मनाको त ?’
‘अनि क्यान्डिल मुखमा तिम्ले हालेको?’, प्रहरीको प्रश्न ।
‘अँ हो । त्यसले मात्रै मिठो बोल्छ रे, ममीले भनेको ।’
उसलाई अर्को प्रश्न सोधियो, ‘…अनि भाइको मुखमा सु पनि गर्देको है तिम्ले ?’
‘अँ हो । आधा गर्देको । आधा ट्वाइलेटमा ।’
जन्मदिनको दिन चार वर्षीय भाइको हत्या गरेको भनी केरकार गर्दा सरोजले आफूले हत्या गरेको स्वीकारेको थियो । त्यो पनि आफ्नै भाइप्रतिको प्रतिशोधका कारण ।
सिनामंगल डेरामा बस्दै आएका एक दम्पती यतिबेला पीडामा छन् । कानूनी रुपमा छोराले अपराध गरेको छ, आफ्नै भाइको हत्या गरेको छ । हत्या गर्ने र हुने दुवै मुटुका टुक्राजस्ता छोरा हुन् ।
पतिले सरकारी हाकिमको गाडी चलाएर र पत्नीले साग बेचेर हुर्काइरहेका दुई छोरामध्ये एक छोरा उनीहरुले गुमाइसकेका छन् ।
जेठो छोरालाई उनीहरुले आफ्नो स्थायी घर सिन्धुपाल्चोकमै जन्म दिएका हुन् भने कान्छो छोरालाई काठमाडौं आएपछि जन्माएका हुन् ।
बुबा आमा दुवैले यो घटनालाई सार्वजनिक गर्न चाहन्नन् । छोराले हत्या गरेपनि सकभर कम सजाय होस् भन्ने चाहन्छन् उनीहरु ।
***
विवाह गरेको ६ वर्षसम्म उनीहरुको बच्चा बसेन । धामीझाँक्री, पूजापाठ, भाले काट्नेदेखि दान दक्षिणा सबै भयो तर बच्चा जन्मेन ।
०६३ सालमा उनको कोख भरियो । पत्नी गर्भवती भइन् सँगै औधी खुसी पनि ।
बाँझो भनेर गाउँलेले हेयको दृष्टिले हेरेका उनीहरुका लागि बच्चा कोखमा बास गर्नु महाभारतको युद्ध जितेजति भयो ।
बच्चा जन्मियो । असाध्यै असल । चञ्चल एक नम्बरको । चतुरो उस्तै । आँखाहरु काला । लामा परेला थिए । बाक्लो आखिभौँ हेरेर पशुपतिनाथको दर्शन गर्न जाँदा एकजना ज्योतिषले भनेछन्, ‘लु यो छोराले कि त राजासम्म बनाउँछ कि जोगी ।’
हलक्क बढ्दै थियो सरोज । आठ महिनामा उसको दाँत आयो ।
लौ बित्यास पा¥यो । के हुन आँट्यो ? परिवार अत्तालियो ।
ग्रहशान्ति भयो । पूजापाठ सबै भयो । पञ्चकन्या बोलाइए । पुरोहित डाकिए । ऋण गरेर उनीहरुले दशा कटाए ।
सरोज बढ्दै गयो ।
बजारमा तरकारी बेच्न छोरो च्यापेर पुग्थिन् आमाचाहिँ । देखे भेटेजति सबैले भन्थे, ‘कति क्यूट बेबी के आन्टी एकछिन बोक्छु ल ।’
चार वर्ष पुगेपछि नजिकको बोर्डिङ स्कुलमा भर्ना गरिदिए सरोजलाई । केटो फूर्तिलो थियो । पढाई राम्रै थियो । पाँचौंसम्म हुन्थ्यो चालीस जना विद्यार्थीमा ।
घर राम्रै चलिरहेको थियो । फेरि सरोजकी आमा गर्भवती भइन् । सरोजको बाल मानसले भने बहिनीको इच्छा आमासँग जाहेर गरेको थियो । तर, छोरा नै जन्मियो ।
परिवारमा नयाँ खुशी थपियो ।
कान्छो छोरो यो मेरो ।
आमा छोराको दिशा पुछ्दै खुसी हुन्थिन् ।
केटो अगेना छेउबाट हेर्थ्यो ।
ऊ नियाल्थ्यो घरमा सबैले सानो फुच्चेलाई मात्रै खोसाखोस गरेर बोक्न चाहेका ।
खेलाउन चाहेका । माया गरेका । छातिमा टाँसेका । म्वाइँ खाएका । हाँस्न सिकाएका । नयाँ लुगा ल्याइएका । छिनछिनमा छातिमा टाँसेर आमाले दुध चुसाएकी । बाले साँझ घर आएर सानो फुच्चेको खुट्टाले आफ्नो निधार छोएका ।
खाटमा अब केटोको ठाउँ फुच्चे केटोले लियो । अर्थात्, ऊ एक्लै भुइँको ओछ्यानमा सुत्थ्यो । केटो घरमा खुबै काम सघाउँथ्यो । एक हिसाबले ऊ घरको सहयोगीजस्तै बन्यो ।
‘ए बाबु ! यी ला, पैँचालिस रुपैयाँको भँैसीको दुध लेरा ।’, बा किचनबाट कराउँथे ।
‘ओके’, केटो दगुथ्र्यो ।
‘ए बाबु त्यो भाइको टालो सुक्यो कि बाहिर बार्दलीबाट ले ले ।’
‘अनि त्यो डाइपर चाहिँ डस्बिनमा फाल्दे ।’ आमा काम लगाउँथिन् ।
ऊ स्कूलबाट ढिलो घर आउन थाल्यो ।
मामाघरबाट आएका पाहुनाले समेत अब सरोजलाई वास्ता गर्न छोडे ।
सरोजको भाइ अब तीन वर्ष पुगेर चार लाग्दै थियो । ०७४ को माघ पन्ध्रमा ।
उसको जन्मदिन केक काटेर मनाउने तयारी थियो । उसलाई त्यही वर्षको पञ्चमीमा अक्षर पनि चिनाइएको थियो – ‘क बाट कमल ।’
पढिरहेको ठाउँमा आएर गोदावरी मेलामा किनेको बन्दुक तेर्साउँदै ‘ह्यान्ड्स अप’ भन्दै डिस्टर्ब गथ्र्यो ।
चार वर्ष पुगेको भाइलाई डो–याउँदै स्कुल लैजाऊ । उसको आची सफा गरिदेऊ । घरी यता घरी उता ।
सरोजलाई यी कुराले वाक्क बनाउन थाल्यो, भाइको माया बिस्तारै हट्दै गयो ।
दिउँसोभरि गाडी हाँकेर लखतरान घर आइपुगेका बा ले एकदिन जेठोलाई मज्जाले हकारे, ‘लाठे भएको केटो केही कामधन्दा जान्दैन । हेर्दै जा, भाइ तँ जत्रो हुँदा कस्तो उधुम गर्छ ।’
डेरीबाट भर्खरै ल्याएको पाकेट दूध दिउरेमा खन्याउँदा पोखेको निहूँमा उसले गाली पाएको थियो ।
केटोले सोच्यो, ‘सोझो बन्नुपर्ने नै रहेछ ।’
उसले आनीबानी फे¥यो ।
भाइको छेउछाउ गएर यसो कपाल मुसाथ्र्यो । भाइ च्यायायायाया….. रोइदिन्थ्यो ।
बेलुका बा उसैगरी घर फर्किन्थे । भाइ टुटेफुटे आवाजमा दादाले कपाल तान्यो भनिदिन्थ्यो ।
त्यसपछि उसले बाको कुटाइ भेट्थ्यो ।
सरोज एकोहोरो हुँदै गएको थियो । तर बा आमा कान्छोलाई काखमा राखेर खेलाउँदा खेलाउँदै जेठोको बारे सोच्नै भ्याउँदैनथे ।
भाइ जन्मेपछि घरमा सबैभन्दा अपमानित भएको कुरा उसको मनमा गडेर बसेको थियो । भाइ बिरामी हुँदा, अपाङ्गता हुँदा वा नहुँदा आफूलाई सबैले माया गर्छन् भन्ने प–यो उसलाई ।
***
बा जागिरमा गएका थिए ।
आमा धारामा पानी जोड्न तल निस्केकी थिइन् । केही आफन्तहरु किचनमा थिए । केटोले सुत्ने कोठाको ढोका लगायो । भाइको घाँटी च्याप्यो । उसले भाइको टाउकोमा आफ्नो किताब पनि बजा–यो । तर, उसको रिस शान्त भएन ।
भाइका कारण ऊ पटकपटक अपमानित र हेलाको पात्र बनेको सम्झ्यो । भाइको मुखभरी केक दल्यो र टाउकोमा पिसाब फेरिदियो । भाइलाई तर्साउने सरोजको योजना अन्ततः हत्यामा परिणत भयो ।
यो घटनाको अहिले अनुसन्धान भइरहेको छ ।
यस घटनाको अध्ययन गरिरहेका एक प्रहरी अधिकृतले लामो जन्मान्तर र अभिभावकले कान्छो सन्तानप्रति धेरै माया देखाउँदा बालकको मष्तिष्कमा असर पर्ने बताउँछन् ।
अधिवक्ता दीपक राईका अनुसार यदि १२ वर्ष उमेर पुगेको बालकले नियतवश हत्या गरेको हो भने कर्तव्य ज्यान मुद्दामा वयस्कले पाउने सजायको आधा सजाय पाउने कानून छ ।
अर्थात् सरोजलाई १० वर्षसम्म जन्मकैद हुन सक्छ । उनले भने यदि १२ वर्षको केटोले हत्या गरेको हो भने कर्तव्य ज्यान मुद्धामा अधिकतम ६ महिना सम्म कैद हुन सक्छ । (वालवालिका सम्बन्धि ऐन, २०४८ को दफा ११ को उपदफा २ )
मनोविद् करुणा कुँवर यस्तो घटना घट्नुमा अभिभावकको धेरै दोष हुने बताउँछिन् ।
एउटा बच्चा हुँदाहुँदै अर्को बच्चा जन्मिन लागेको अवस्थामा अत्यन्तै सजग हुनुपर्ने उनी बताउँछिन् ।
‘परिवारमा अर्को बच्चा आउँदैछ भन्ने जानकारी उसले बुझ्ने ढंगबाट नै दिनुपर्छ, नेपालमा दोस्रो बच्चा जन्मेपछि पहिलो बच्चालाई तिमी सुत्ने ठाउँमा ऊ सुत्छ, तिमीले खाने उसले खान्छ भन्ने खालको व्यवहार गर्नुहुँदैन, यसो गर्दा बच्चालाई नकारात्मक असर पर्छ’, मनोविद् कुँवर भन्छिन्, ‘यदि बच्चालाई असर प–यो भने उनीहरु बिस्तारै नटेर्ने, झगडा गर्ने, रिसाउने, चिढिने, पिट्ने, थुक्ने, टोलाउनेजस्ता लक्षण देखिन्छन्, यस्तो अवस्थामा अभिभावक नै सचेत हुनुपर्दछ ।’
कुँवरका अनुसार यस्तो समस्यामा मानिसमा मात्र हैन, जनावरमा पनि हुन्छ ।
***
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया