रसिया। फ्रान्सेली युवा खेलाडी केलियन एमबाप्पेलाई रोक्दै उरुग्वे अघिल्लो चरणमा प्रवेश गर्ने स्ट्राइकर लुइस स्वारेज बताएका छन ।
यहि शुक्रबार हुने प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा स्वारेजको टोली उरुग्वेले फ्रान्सेली टोलीसँग प्रतिस्पर्धा गर्दैछ। स्वारेजले फ्रान्सविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट नतिजा हात पार्नेमा विश्वस्त रहेको बताए ।
समूह चरणको खेलमा उरुग्वेले इजिप्ट र साउदी अरेबियालाई समान १—० गोल अन्तरले तथा अन्तिम खेलमा आयोजक राष्ट्र रसियालाई ३—० ले हराउँदै प्रि—क्वार्टरफाइनमा प्रवेश गरेको थियो । यता अन्तिम १६ को खेलमा पोर्चुगललाई २—१ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।
स्ट्राइकर स्वारेजले फ्रान्सका एमबाप्पे राम्रो खेलाडी भएको तर उसलाई रोक्न आफ्नो टिमसँग बलियो रक्षापंक्ति रहेको समेत बताए ।
१९ वर्षे एमबाप्पेले अर्जेन्टिनाविरुद्धको खेलमा २ गोल गर्दै उदायमान खेलाडीको पहिचान दिएका थिए।
उक्त खेलमा लियोनल मेसीको टोली अर्जेन्टिना ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
कप्तान स्वारेजले एमबाप्पेका अलावा फ्रान्सेली टोलीमा अन्य खेलाडी पनि उत्तिकै राम्रो खेल्न सक्ने भएकाले उनीहरूलाई रोक्न चुनौती रहेको बताए।
स्टार खेलाडी एडिन्सन काभानीको अनिश्चितताले भने उरुग्वे टोलीलाई चिन्ताको बढेको छ। काभानी पोर्चुगलविरुद्धको खेलमा बायाँ पिँडौलामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया