टेकनाथ दहाल
केही दिनदेखि सोलुखुम्बुको सल्यानमा छु । काठमाडौँबाट २२ दिनको यात्रामा निस्किएको थिएँ । सोलुखुम्बु हाम्रा लागि मात्रै होइन संसारकै लागि उपयुक्त पर्यटकीय गन्तव्य हो ।
तर म यो २२ दिनको अवधिमा एकदमै जिम्मेवारीले बाँधिएर बसेको छु । त्यसैले अन्यत्र घुम्न जान नपाउने मेरा आफ्नै प्रकारका बाध्यताहरू छन् । यद्यपि मलाई नयाँ ठाउँबारेका जिज्ञासाले हरसमय आकर्षित गरिरहन्छ ।
काठमाडौंबाट हिँड्ने बेलामा केही सुभेच्छुकहरूले भनेका थिए, सल्यानमाथिको डाँडोमा एक पटक पुग्नुहोला । मलाई त्यतिखेर त्यो डाँडाबारे धेरै जानकारी थिएन ।
खासमा मैले सोलुखुम्बु जिल्ला नै पहिलो पटक टेकेको थिएँ । सल्यान आएर बसेको केही दिनमा यहाँका केही मानिसहरूले गौरीटाप एक पटक पुग्नैपर्ने स्थान भएको जानकारी गराएका थिए । तर जान त्यति सहज थिएन ।
म बसेको स्थानबाट दक्षिण–पश्चिममा देखिने सबैभन्दा अग्लो टाकुरो नै खासमा गौरीटाप थियो । मेरो अनुमानमा त्यहाँ पुग्न हिँडेर जाने हो भने लगभग ६ देखि ७ घण्टा लाग्छ ।
मैले यसबारेमा वीपी क्याम्पसका क्याम्पसप्रमुख लोकनाथ दाहालसँग बारम्बार कुरा गरेको थिएँ । उनी भनिरहेका थिए, ‘बिदा मिलाएर जानुपर्छ ।’
हामीले हाम्रो दैनिक कार्यतालिका हेर्यौँ । होलीका अवसरमा दुई दिन बिदा भएको थाहा पाएपछि फागुनको पछिल्लो साता नै त्यो बिदाको सदुपयोग गर्ने योजना बनेको थियो । तर जति जति दिनहरू नजिँकिदै थिए त्यति त्यति हाम्रो पूर्वनिर्धारित योजना अनिश्चितताको भुमरीमा पर्दै गएका थियो ।
खासमा हामीलाई यातायातले समस्या बनााइरहेको थियो । हामीसँग यातायातको साधन थिएन । अब या त भाडाका गाडी लिनुपर्थ्यो या त कुनै शुभेच्छुकसँग मोटरसाइकल माग्नुपर्थ्यो । ती दुवै विकल्प खुला राखेर हामी योजना बनाइरहेका थियौँ । हाम्रो योजनामा साथ दिइरहेका थिए वीपी संस्कृत माविका प्रधानाध्यापक गुणराज निरौलाले ।
खासमा गौरीटापको महत्त्वका बारेमा भन्नेमा उनी पनि प्रमुख थिए । तर होलीको अघिल्लो दिन मध्यान्हसम्म पनि जाने नजाने अनिश्चितता कायमै थियो । खै किन हो निरौलाले अन्तिममा आएर आफू नजाने मनस्थितिमा रहेको बताए ।
बेलुका भएपछि नवराज ढुङ्गाना र गिरिजा पौडेलले एकाएक मोटरसाइकल व्यवस्था गरेर मलाई त्यहाँ जसरी पनि पुर्याउने योजना बनाएछन् । नवराज र गिरिजा दुवै मेरा प्रिय शिष्य हुन् । नवराजलाई काठमाडौंमा एकवर्षे शिक्षाशास्त्री गराएको थिएँ भने गिरिजालाई उत्तरमध्यमा (आईए) देखि नै पढाएको थिएँ । नवराज वीपी क्याम्पसमा आंशिक शिक्षकका रूपमा कार्यरत छन् भने गिरिजा गौरीशंकर गुरुकुल सोलु सल्यानका प्रधानाध्यापक हुन् ।
उनीहरूको योजना थाहा पाएपछि मलाई औधि खुसी लाग्यो । अब क्याम्पसप्रमुखचाहिँ गुनासो गर्न थाले आफूलाई छोडेर जान थालेकोमा । तब उनलाई पनि लैजान अर्को मोटरसाइकलको व्यवस्था गरे नवराज ढुङ्गानाले । अब हामी छ जनाको टोली गौरीटाप जाने भयौँ ।
मलाई बाबुराम गौतमले लैजाने भए । उनी यहीँ सल्यानका स्थानीय हुन् र निम्नमाध्यमिक तहमा अध्यापन गर्छन् । गरिजा र परशुराम खतिवडा एउटामा जाने भए । परशुराम वीपी क्याम्पसका आंशिक शिक्षक हुन् र वीपी संस्कृत माविमा पनि अध्यापन गर्छन् । नवराजले क्याम्पसप्रमुखलाई बोक्ने भए । सबै योजना गिरिजाको थियो ।
होलीको दिन बिहानै हामी गौरीटापका लागि हिँड्यौँ । सल्यानबाट महादेवथानको बाटो अलि अप्ठ्यारो भएकाले सोलु खोला झरेर एकै पटक रमिते निस्कने सल्लाह भयो । सोलुखोलामा बनिरहेको ८२ र ८ मेगावाट क्षमताका विद्युतगृह र सुरङमार्ग जाने स्थान भएकाले त्यो बाटो केही सजिलो थियो । बाटो कच्ची भए पनि सजिलै जान सकिन्थ्यो ।
सल्यानबाट हिँडेको एक घण्टामा हामी रमिते पुग्यौँ । ओखलढुङ्गाबाट आएको गाडी रमिते हुँदै सल्लेरी जान्छ । सबैभन्दा अघि हामी नै लागेका थियौँ । बाबुराम गौतम कच्ची बाटोमा मोटरसाइकल चलाउन असाध्यै सिपालु रहेछन् । एक घण्टा उनको पछाडि बसेर यात्रा गर्दा मलाई त्यस्तै अनुभूति भइरहेको थियो ।
हामी रमिते पुगेपछि लोकनाथ दाहालले फोन गरेर भने, ‘रमितेमा चिया खानुपर्छ । उनीहरू निकै पछाडि थिए । सोलुमा प्रायः सबैतिर होमिस्टे रहेछ । रमिते बजारमा त्यो नहुने कुरै भएन । हामी एउटा घरको माथिल्लो पसलमा पसेर चिया खान थाल्यौँ ।
बाटामा हामीलाई नदेखेर गिरिजा र परशुराम अगाडि बढेछन् । हामीलाई लाग्यो नवराजहरू पनि गए होलान् । चिया खाएर निस्कनै लाग्दा गिरिजाको फोन आयो । उनले बेलीडाँडामा बसेर खाजा खाने कुरा गरे । ल भनेर हामी पनि अघि बढ्यौँ । बाबुराम धेरै बोल्न नरुचाउने मानिस रहेछन् त्यसैले यो विषयमा खासै कुरा भएन ।
बेली बजार पुग्नै लाग्दा लोकनाथको पुनः फोन आयो । ‘हामी बेलीबजार पुग्नै आँट्यौँ । त्यहीँ आउनुहोला खाजा खाने सल्लाह भएको छ’, मैले भनेँ ।
उनीहरूचाहिँ भर्खर रमिते आइपुगेका रहेछन् । बाबुरामले छिटो मोटरसाइकल चलाएकाले रमितेमा चिया खाने अवसर हामीले मात्रै पायौँ । बेली बजार पुग्दा गिरिजा र परशुराम हामीलाई पर्खिएर बसिरहेका थिए ।
हामी रोकियौँ । सामुन्ने नुमुर हिमाल मुस्कुराइरहेको थियो । सल्यानमा गर्मी भए पनि बेली बजार पुग्दा चिसोले कमाउन थालेको थियो । मैले ब्यागमा ज्याकेट हालेको थिएँ । झिकेर लगाएँ । हामी तीन जना त्यहाँको एउटा होटलमा पस्यौँ ।
होटलमा होटेलमालिक्नी स्थानीय सेतो सिमी भुट्दै रहिछन् । आलु र सेल तयारी अवस्थामा थियो । हामीले सिमी खाने निर्णय गर्यौँ ।
लोकनाथ र नवराज अझै आइपुगेका थिएनन् । हामी होटल्नीसँग कुरा गर्दै थिर्यौँ । बाहिर हेर्दा नवराज र लोकनाथ मोटरसाइकल नरोकी अगाडि बढेको मैले देखेँ ।
बाहिर निस्किएर मैले लोकनाथलाई फोन गरेँ । उनीहरू अलिकति अगाडि बढेका रहेछन् । फर्किए ।
हामी छ जना होटलभित्र पस्यौँ । सिमी पाकिसकेको थियो । भित्र खुर्सानीको खार आएकोमा लोकनाथले तरकारी पिरो भएको अनुमान लगाए । ‘म त धेरै पिरो खान्न है’, उनी डराए ।
‘धेरै पिरो रहेछ भने त तपाईँलाई गाली गर्दैर् जान्छौँ है’, मैले भनेँ । मेरो कुरा सुनेपछि सबै जना हाँसे । होटल्नीले सिमीको बाटा बाहिर ल्याउँदै भनिन्, ‘त्यस्तो पिरो छैन । बुढोले भएको भए अलि खुर्सानी हाल्थे मैले धेरै खुर्सानी हालेको छैन ।’
उनले प्लेटमा सिमी हालेर ल्याइन् । साँच्चिकै सिमीमा खासै पिरो थिएन । साह्रै स्वादिलो । ‘काठमाडौ जाँदा सिमी लिएर जानुपर्ला सोलुखुम्बुको कासेली’, मैले भनेँ ।
केहीछिनको विश्राम सकेर हामी पतालेतिर लाग्यौँ । पताले हिमाली क्षेत्रमा बसेको सुन्दर बस्ती हो । सानो बजारजस्तो छ । सल्लेरीबाट आएको गाडी त्यही बाटो भएर ओखलढुङ्गातिर जान्छ । बाटो पिच भएको रहेछ ।
पतालेबाट पिच बाटो छोडेर पूर्वतिरको उकालो लाग्यौँ । दुई किमि माथि उक्लिएपछि गौरीटाप पुगिँदोरहेछ । वर्षको एक पटक हिँउ पर्ने भएकाले लालीगुँरास र सल्लाको बोटमा लेउ लागेको थियो ।
हामी जतिजति माथि गयौँ त्यतित्यति बुटाहरू साना हुँदै गए । हिउँ परेका बेला मोटरसाइकलमा माथि जान सकिँदैन भन्ने कुरा त्यहाँको भू–बनोटबाटै मैले थाहा पाएँ । जाँदा जाँदै विल्कुलै नाङ्गो घाँसे मैदान आइपुग्यो ।
हिउँद भएर होला घाँसे मैदान पूरै सुकेको थियो । त्यही सुकेको घाँस पनि सुन्दर देखिरहेका थियौँ । हाम्रो तीनवटा मोटरसाइकल एकै ठाउँमा रोकियो । हामीले मोटरसाइकल रोकेको माथि एकाध मन्दिर देखियो र मन्दिरको आडमा एउटा सुन्दर कुटी पनि थियो । मलाई लाग्यो आजको गन्तव्य आइपुगेको छ । बाबुरामलाई सोधेँ, ‘यहीँ हो ?’
‘हो सर’, उनको जवाफ थियो ।
हामी सबै उँभो लाग्यौँ । कुटीमा दुई जना महिला खाना खाइरहेका थिए । हामी कुटीको अगाडि पुगेपछि भित्रबाट बाबा निस्किए । मैले सोचेको भन्दा भिन्न स्वरूपमा बाबा देखिए । उनले हामीलाई स्वागत गरे ।
कुटीका अगाडि एक जना मानिस बसिरहेका थिए । उनी थिए नेचासल्यान गाउँपालिकाका शिक्षाप्रमुख माधव ढुङ्गाना । अघिल्लो दिन सल्लेरीबाट सिधै यहाँ आएका रहेछन् । बाबाले उनलाई हामी आउन लागेको सूचना हिजै दिएका रहेछन् ।
हाम्रो पूर्वयोजना पनि २ गते बेलुका बास बस्न जाने थियो । तर यातायातको अनुपलब्धताका कारण जान सकिएको थिएन । राति उनी बाबासँगै बसेका रहेछन् । त्यहाँबाट नजिकै सगरमाथा देखिन्छ । त्यसका अलावा त्यहाँबाट गौरीशंकरदेखि कञ्चनजङ्घासम्मको हिमाल देख्न पाइँदोरहेछ ।
हल्का तुवाँलो लागेको थियो । त्यसैले हिमालको पल्लोछेउमा सगरमाथाको टुप्पो मधुरो देखियो । त्यसपूर्वको हिमाल खासै देखिएन । गौरीशंकर हिमाल त्यो हो भनेर बाबाले नै देखाए । गौरीशंकर हिमाललाई मैले कालिञ्चोकबाट देखेको थिएँ । तर आज पश्चिम–उत्तर कोणमा गौरीशंकर हिमाल देखियो । हिमालबारे केही जानकारी पाएपछि बाबाले त्यहाँको मन्दिर घुमाउन लगे । मन्दिरसँग त्यहाँको स्थानीय किंवदन्ती जोडिएको रहेछ ।
बाबाको कथनअनुसार त्यहाँ गौरीले तपस्या गरेकी थिइन् । पछि शिव गौरीलाई खोज्दै त्यहीँ आइपुगे । उनले गौरीलाई लैजान खोजेका थिए । तर गौरीले नमानेपछि शिव पनि त्यहीँ बसे । बाबुआमा नै हराएपछि गणेश बाबुआमालाई खोज्दै त्यहीँ आइपुगे । उनी बाबुआमाका बीचमा बसे ।
मन्दिरभित्र शिला छ र त्यसमा केही आकृति कुँदिएको छ । त्यो आकृतिचाहिँ कृत्रिम नभएर प्राकृतिक नै हो । शिला त्यति ठूलो पनि छैन । शिलालाई भित्र पारेर बनाइएको मन्दिरचाहिँ भर्खर–भर्खरै बनेको हो ।
शिलामा भक्तजनहरूले पूजा गर्ने गरेको देखिँदै छ । अलिकति पश्चिममा अर्को मन्दिर छ । त्यसमा पनि अस्पष्ट केही आकृतिहरू छन् । त्यसैलाई गौरी टाप भनिँदोरहेछ । गाईको खुरको छाप छ भनेर बाबा देखाउँदै थिए र त्यसमा बाघ र गाईको पदछाप छ भनिरहेका थिए बाबा तर मलाई भने त्यस्तो केही लागेन ।
त्यो शिला पनि त्यति ठूलो छैन । त्यस शिलालाई पनि भित्र पारेर भर्खर मन्दिर बनाइएको रहेछ । त्यसभन्दा माथ्लोपट्टि अर्को मन्दिर छ । त्यो मन्दिर सल्यानकै एक जना व्यक्तिले बनाउन लगाएका हुन् भन्ने कुरा बाबाले नै बताए ।
त्यस मन्दिरमा भर्खर शिवलिङ्ग राखिएको छ । मन्दिरअगाडि नन्दीको सानो मूर्ति पनि राखिएको छ । ती सबै मन्दिर हेरिसकेपछि हामी कुटीअगाडि आएर बस्यौँ । बाबाले जडीबुटी हालेको चिया बनाएर ल्याए । हामीले चिया खायौँ । चिया खाँदै गर्दा लाग्यो, यो ठाउँ भर्खर धार्मिक हिसाबले पनि परिचित हुँदै छ र त्यसको श्रेय यिनै बाबालाई जान्छ ।
बाबाले आफ्नो नाम लौरेश्वर राखेका रहेछन् । मैले नामाकरणको कारण सोधेँ । उनले आफू पहिला लौरेश्वरमा बसेर तपस्या गर्नेगरेकाले लौरेश्वर राखेको जवाफ दिए ।
लौरेश्वर महादेव गौरीटापबाट निकै तल जङ्गलमा छ भन्ने उनैका मुखबाट सुन्यौँ । तर हेर्न गइएन । लौरेश्वरबारे उनले केही जीवनगत कुरा पनि भने ।
उनको भनाइ थियो, ‘मानिसको अन्तिम साहारा लौरो हो । भगवान् पनि अन्तिम साहारा हुन् । त्यसैले लौरो र भगवान् हाम्रा लागि उस्तै हुन् । अन्तिममा सबैको साहारा उनै लौरोरूपी भगवान् भएकाले र मैले लौरेश्वरमा साधना गरेकाले लौरेश्वर नाम राखेँ ।’
यो उनको आफ्नै प्रकारको व्याख्या थियो ।
गौरीटापमा पुगेर बाबालाई भेट्दा नै होली खेल्ने कुरा चलेको थियो । होलीको दिन परेकाले गौरीटापमै होली खेल्ने हाम्रो पूवनिर्धारित कार्यक्रम पनि थियो । रङ्गले जीवनलाई नै रङ्गीन बनाउँछ चाहे त्यो क्षणिक नै किन नहोस् ।
उमङ्गका साथ खेलिने रङ्गहरूले क्षणिक भए पनि उमङ्ग ल्याउँछ । हामीले पनि गौरीटापको उन्मुक्त प्राकृतिक सौन्दर्यमा रङ्हरूले ल्याउने उमङ्गलाई आत्मसात् गर्यौँ ।
हामीलाई साथ दिन थाले लौलेश्वर बाबाले । हामी सबैलाई एक–एक गरेर रङ्ग लगाइदिए । हामी त्यहाँ पुग्नुअगावै दुई/तीन वटा समूह आएर विभिन्न प्रकारका रङ्गहरूमा रङ्गिएर गइसकेका थिए । एउटा समूहलाई त हामीले बाटामै भेटेका थियौँ ।
रङ्ग खेलेपछि लाग्यो, आजको होली विशेष भएको छ । फोटो खिच्यौँ र बस्यौँ । कुरा गर्दा–गर्दै बाबाले आलु उसिनेर ल्याए । साथमा टिमुर हालेको गोलभेँडाको अचार पनि थियो । सबैले त्यो खायौँ र बाहिर घुम्न निस्कियौँ ।
प्राकृतिकरूपमा यो स्थान निकै सुन्दर छ । चिसो भएकाले लालीगुराँस अझै फुलिसकेका थिएनन् । माधव ढुङ्गाना भन्दै थिए, ‘लालीगुराँस फुलेपछि यो स्थान अझै सुन्दर देखिन्छ । हामीले सोलुको सल्लेरी बजार खोज्यौँ । त्यो निकै तल देखिँदै थियो । काँगेल विमानस्थल पनि निकै तल देख्दै थियौँ ।
मलाई त्यसको उचाइबारे जिज्ञासा लाग्यो । माधवजीले भन्नुभयो, ‘३२ सय मिटर उचाइमा छ ।
केही समयअघि दुई फिटभन्दा बढी हिउँ परेको जानकारी बाबाले नै गराए । चिसो अहिले पनि त्यत्तिकै थियो । आउँदा देखिएका हिमालहरूलाई तुवालो र बादलले आफूभित्र लुकाइसकेका थिए ।
मध्यान्ह भएपछि त्यहीँ खाना खायौँ र सल्यान फर्किने सल्लाह गर्यौँ । अबचाहिँ ख्याम्पुको बाटो झर्ने कुरा भयो । त्यो बाटो सोझो छ तर कच्ची भएकाले अप्ठ्यारो पनि छ भन्ने थाहा पायौँ । माधवजीलाई त्यो बाटोबारे जानकारी रहेछ । उनले नै त्यो बाटोको नेतृत्व गरे ।
धुलाम्मे बाटोलाई पछ्याउँदै हामी ख्याप्पु आइपुग्यौँ । अब सल्यान पुग्न धेरै समय लाग्दैन । बाटो पनि आनुपातिकरूपमा त्यति गाह्रो छैन । त्यहाँ बसेर साथीहरूले माउन्टेन डियु खाए । मैले चिसोपानी खाएँ ।
केही समय बसेपछि हामी सल्यानतिर झर्यौँ । सल्यान आइपुग्दा घडीले भर्खर ४ः३० बजाएको रहेछ । प्राध्यापक आवासमा आइपुगेपछि लाग्यो एउटा दृढ चाहना पूर्ण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया