जब सुर्खेतको सिम्तामा संघीय संसदको झझल्को देखियो

-युवराज पंगाली

सुर्खेत । बुधबार दिउँसो ठिक एक बजेको थियो । सभाहल संसदहरुले भरिभराउ थियो । मर्यादापालक आएर सम्माननीय राष्ट्रपतिज्यू, माननिय सांसदहरु भनेर सम्बोधन गरे, सम्बोधन गर्नेबित्तिकै मूल ढोका खुल्यो । 

सभामुख वीरेन्द्र लम्साल र राष्ट्रपति सरिता रसाइली हलमा प्रवेश गरे । दुवैको प्रवेश लगत्तै बसिरहेका सांसद जुरुक्क उठे, राष्ट्रिय गीत बज्यो । 

सभामुख वीरेन्द्र लम्सालले संसदको अध्यक्षता गरे भने बैठकको नियमित कार्यसुची सार्वजनिक गरे । प्रधानमन्त्री रविकिरण हमालले राष्ट्रपतिलाई सरकारको नीति तथा हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । 

यो घटना प्रतिनिधि सभा तथा प्रदेश सभा नभई सिम्तामा भएको नमूना युवा संसदको थियो । 

प्रतिनिधि सभा संसदकै झल्को दिनेगरी युवाहरुको नमूना संसद सञ्चानल गरिएको छ ।

सिम्ता गाउँपालिका, युवा परिषद् सुर्खेतको आयोजना र सुशासन प्रर्वद्धनका लागि युवा सिम्ताको  समन्वयमा सुर्खेतमा पहिलो पटक सिम्तामा युवा संसद सञ्चालन गरिएको हो । 

नमूना युवा संसदको अभ्यासका लागि नेपालका कुल १४ वटा स्थानीय तहहरु मध्ये सुर्खेतको सिम्ता गाउँपालिका छनोट भएको थियो ।

नमूना युवा संसदका राष्ट्रपति सरिता रसाइलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सिम्ता गाउँपालिकाले युवा मैत्री आधुनिक सूचना प्रविधिमैत्री र युवा स्वरोजगारमूलक नीति अबलम्बन गर्ने घोषणा गरिन् । 

गाउँपालिकाको हरेक वडास्तरबाट विकास योजना छनौंट गर्ने क्रममा वडास्तरिय युवा क्लवको अध्यक्षलाई अनिवार्य सहभागी गराउने, युवाका सवालरुमा प्राथमिकिकरण गरी योजनाहरुको छनोट गर्ने नीति घोषणा गरिएको छ ।

नमूना संसदको नीति तथा कार्यक्रम मार्फत सिम्तामा शैक्षिक योग्यता र तालिम प्राप्त युवाहरुले सीप, क्षमता र व्यवसायीक योजनाका आधारमा प्रत्येक वडामा १०० जना युवालाई निव्र्याजी ऋण उपलब्ध गराउने, वडामा युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकामा सुविधा सम्पन्न आधुनिक सूचना प्रविधि पार्क निर्माण गर्ने घोषणा गरिएको छ ।

त्यसैगरी गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, प्रत्येक माध्यमिक विद्यालयमा न्यूनतम् १० वटा कम्प्यूटर र निःशुल्क इन्टरनेटको सुविधा प्रदान गर्ने, हरेक बर्ष गाउँपालिकामा युवा महोत्सवको आयोजना गर्ने, युवाहरुको अनुभव आदान प्रदान गर्न युवा सम्मेलनको आयोजना गर्ने, दुव्र्यसनिमा फसेका युवाहरुलाई जीवन उपयोगी सीप तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने नमूना युवा संसदमा घोषणा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले नमूना युवा संसदमार्फत उठेका सवालहरु सम्बोधन गर्न सञ्चालन भैरहेको गाउँ सभामा पेश गरिने जानकारी दिए । सभामा छलफल गरी अगाडि बढिने अध्यक्ष केसीको भनाइ छ ।

गाउँपालिकाको समग्र विकासका लागि विशेषगत कार्यालय, लक्षित वर्ग, सामाजिक रुपमा पछाडि परेका वर्ग समुदायहरुको सहभागिता र नेतृत्वमा कार्यक्रमहरुलाई अगाडि बढाउने नीति भए अनुसार युवा संसदका सवालहरुलाई पनि गाउँसभाले सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

बढदै गएको दुव्र्यसनि, महिला हिंसा, सामाजिक विकृति, विसंगतिहरुको न्यूनिकरणका लागि युवा संसदहरुसंगको साझेदारीमा अगाडी बढ्ने अध्यक्ष केसीले प्रतिवद्धता जनाएका छन् ।    

नमूना युवा संसदमा राष्ट्रपति सरिता रसाइली, उपराष्ट्रपति लक्ष्मी बुढा, सभामुख वीरेन्द्र लम्साल, उपसभामुख अर्जून खत्री, प्रधानमन्त्री रविकिरण हमाल, गृहमन्त्री बादल वली, युवा तथा खेलकुद मन्त्री कपिल थापा, अर्थ तथा योजना मन्त्री अनिता घर्ती, शिक्षा तथा प्रविधि मन्त्री अरुण थापा, पर्यटन तथा नागरिक उड्डयान मन्त्री चन्द्र सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री सम्झना महतारा, विपक्षी दलका नेता विनोद अधिकारी रहेका छन् ।

युवालाई रोजगारी पहिलो प्राथमिकताः मन्त्री रावल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विदेशीने युवाहरुलाई कर्णाली प्रदेशमै स्वरोजगार बनाउने संकल्प प्रदेश सरकारले गरेको बताएका छन् । सिम्ता गाउँपालिकामा बुधबार सम्पन्न नमूना युवा संसदलाई सम्बोधन गर्दै मन्त्री रावलले संघीय संसदकै झझल्को दिने गरी युवाहरुले संसद सञ्चालन गरेको बताए । रोजगारीको रुपमा विदेश गएपनि दैनिक बाकसबाट युवाका लास फिर्ता हुने भयावह अवस्था रहेकाले त्यसको समाधानका लागि सबै तहका सरकारहरु जिम्मेवारपूर्वक अगाडी बढ्न जरुरी रहेको बताए ।

विश्वमा जतिपनि संसदिय व्यवस्था अनूरुप सरकारहरु चलिरहेका छन् त्यहाँका आम नागरिकहरुको अर्थपूर्ण सहभागिता, सचेतना र सशक्तिकरणको माध्यमबाट सफल भएको बताए । “सामाजिक सम्बन्धका हिसावले विकसित मुलुकभन्दापनि नेपालमा आपसी सौहार्दता, भातृत्व र सामाजिक सद्भावको छैन” मन्त्री रावलले भने “आजका युवा भोलिका कर्णधार मात्र नभई वर्तमानका हिस्सेदार पनि भएको हुनाले युवाहरुलाई संगठित रुपमा राज्य सञ्चालनको प्रक्रियामा एकाकार बनाएर अगाडी बढाउन सके मुलुकको विकास सम्भव छ ।” देशभरीका ७५३ स्थानीय तह मध्ये सिम्ता गाउँपालिकाले पनि नमूना युवा संसद सञ्चालन गर्नु प्रशंसनिय कार्य भएको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य ठम्मर विष्टले  राज्य चलाउन सक्ने युवाहरुले आजदेखि नै विभिन्न क्रियाकलापमा सक्रिय भएर लाग्न आग्रह गरे । युवाहरुको हातमा नै गाउँदेखि शहर हुँदै देश निर्माणमा ठुलो भुमिका हुने बताउदै प्रदेश सभा सदस्य विष्टले युवाहरुले विकास निर्माण तथा सामाजिक कार्य गर्दै गए सबैले सहयोग गर्ने विश्वास दिलाए ।

प्रदेश सभा सदस्य पद्मा खड्काले सिम्ता गाउँपालिकाले सञ्चालन गरेको नमूना युवा संसद कर्णाली प्रदेशको नमूना भएको बताईन । नमूना युवा संसदले हामीले चाहेमा गर्न सक्छौं भन्ने भावनाको विकास गरेको उनको भनाई थियो । “क्षमतालाई उमेरले छेक्न सक्दैन भन्ने उदाहारण पछिल्लो स्थानीय र प्रदेशको निर्वाचनबाट युवा, महिला, दलित, जनजातिको प्रतिनिधित्व नेतृत्व तहमा पुगेको छ ।”

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि ऐन बहादुर चन्दले युवा संसदका सवाल तथा स्थानीय जनप्रतिनीधिहरुका काम कारवाहीहरुमा सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए । त्यसैगरी नेपाली काँग्रेसका पार्टी प्रतिनिधि वीरेन्द्र रावतले प्रदेश सरकार र केन्द्र सरकारको कार्यकाल एक बर्ष पुरा नभएका कारण प्रतिपक्षको नाताले तीनै तहका सरकारको टिक्का टिप्पणी नगरिएको बताए ।  युवा संसदले गरेको अनुकरणीय कार्यको प्रशंसा उनले गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?