सातामा सेयर बजार : नेप्से २६ सय ३१ अंकमा पुगेर खुम्चिँदा १२ अर्ब ३१ करोडको सेयर कारोबार

लोकपथ
91
Shares

काठमाडौं । यो साता पनि लगानीकर्ताहरुको लागि नेप्से खासै सुखद देखिएन् । नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुल्ला रहेकोमा पहिलो र दोस्रो कार्यदिन नेप्से बढेपनि तेस्रो र चौथो कार्यदिन भने नेप्से घटेको थियो ।

पाँचौँ दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहको थियो । खुलेको चार कार्य दिनमा पनि दोस्रो कार्यदिन ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा समस्या आउँदा नेप्से निर्धारित समयभन्दा दुई घण्टाअघि नै बन्द भएको थियो । सोही आधारमा पनि यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै खुम्चिएको हो ।

नेप्से २६ सय ३१ दशमलव ३२ अंकमा पुगेर खुम्चिदा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९७ दशमलव ३७ अंकमा पुगेर खुम्चिएको छ । सोहीअनुरुप यो साता कुल कारोबार रकम १२ अर्ब २२ करोड ६७ लाख ७८ हजार पाँच सय ८९ रुपैयाँमा सीमित हुन पुगेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको एक लाख ६६ हजार पाँच सय ४२ पटकको कारोबारमा यो साता दुई करोड २८ लाख ६८ हजार तीन सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । गत साता भने १० अर्ब २३ करोड ८३ लाख ६१ हजार सात सय ७८ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

उक्त साता दुई सय ३० वटा कम्पनीहरुको एक लाख ९९ हजार आठ सय ७८ पटकको कारोबारमा दुई करोड १० लाख २५ हजार ८१ कित्ता सेयर खरिदबिक्री भएको थियो ।

कारोबार खुलेको मध्ये यो साता पहिलो दिन एक सय एक दशमलव सात अंकले बढेर दुई हजार छ सय ६७ दशमलव ९७ अंकमा पुगेको नेप्से दोस्रो दिन पनि शून्य दशमलव १५ अंकले बढेर दुई हजार छ सय ६८ दशमलव ११ अंकमा पुग्न सफल भएको थियो ।

तेस्रो दिन भने १७ दशमलव १५ अंकले घटेर दुई हजार छ सय ५० दशमलव ९७ अंकमा झरेको नेप्से चौथो दिन १९ दशमलव ६५ अंकले घटेर २६ सय ३१ दशमलव ३२ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी पहिलो दिन १६ दशमलव ३७ अंकले बढेर पाँच सय नौ दशमलव ९० अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने शून्य दशमलव शून्य पाँच अंकले घटेर पाँच सय नौ दशमलव ८५ अंकमा पुगेको थियो ।

तेस्रो कारोबार दिन भने सात दशमलव २६ अंकले घटेर पाँच सय दुई दशमलव ५९ बिन्दुमा झरेको सेन्सिटिभ इन्डेक्स चौथो दिन पाँच दशमलव २२ अंकले घटेर चार सय ९७ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ ।

यो साता नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ भने सेयर कारोबार भएको संख्याको आधारमा नेसनल हाइड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालीलगायतका कम्पनीहरु अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?