कालीगण्डकीमा बेपत्ता भनिएका चालक एक सातापछि सम्पर्कमा

म्याग्दी :बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । 

अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करीब ३० फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका–९ का ३१ वर्षीय रवि ९इन्द्रबहादुर० खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली बेपत्ता भएका थिए । 

कालीगण्डकी नदीमा जिप खसेर दुर्घटना भएपछि वर्षाका कारण पानीको बहाव बढेका कारण दुवैजनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भिक अनुमान गरिएको थियो । तर दुर्घटना भएको छ दिनपछि बुधबार सो जिपका चालक खड्का प्रहरीको सम्पर्कमा आएका छन् । 

दुर्घटनालगत्तै बेपत्ता भएका खड्का र नेपालीको परिवारसमेत सुरक्षा निकायकै समन्वयमा कालीगण्डकी नदीमा खोजीकार्यमा जुटेका थिए । 

दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । दुर्घटना भएको यतिधेरै दिनपछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिए । 

दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात् दुर्घटनामा परेपछि आफू खोलामा उछिट्टिएको र पौडी खेलेर बाहिर निस्कन सफल भएको बयान दिएका छन् । तर दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ । 

खड्काले प्रारम्भिक बयानका क्रममा घराम्दीबाट पोखरा जाने यात्रु भएको भनि बोलाएर गाउँमा भेला भएका गाउँलेले सविता नेपालीलाई गर्भवती बनाएको भनी लगाएको आरोप स्वीकार गरेर बेनी ल्याउने क्रममा दुर्घटना भएको बताएका छन् । दुईजना मात्रै सवार गाडी चलाउने क्रममा आफू तनावमा परेको र नियन्त्रणभन्दा बाहिर गएर दुवैजना कालीगण्डकीमा खसेको खड्काले बताएका छन् । 

आफू उछिट्टिएर खोलामा परेको र १०० मिटर तल कालीगण्डकीमा पौडी खेलेर बाहिर निस्किई अरुले आक्रमण गर्ने डरले उज्यालो भइञ्जेल सडकमुनिको ओडारमा लुकेर बसेर पैदलै हिँडेर गलेश्वरदेखि पर्वतको बगरफाँट हुँदै मिलनचोक पुगेर गाडी चढेर पोखरा पुगेको खड्काले बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?