नेपाली गीतले फेसबुक र इन्स्टाग्रामबाट रोयल्टी पाउने

लोकपथ
98
Shares

काठमाडौं । फेसुबक र इन्स्टाग्राममा नेपाली गीत बजेबापत त्यो गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज र फेसबुकको माउ कम्पनी मेटाबीच मार्च १६ मा ‘म्युजिक लाइसेन्सिङ एन्ड पब्लिसिङ’ सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार मेटाका प्लेटफर्ममा पोस्ट हुने नेपाली गीत संगीतका कलाकार तथा सर्जकले रोयल्टी पाउनेछन् ।

मेटाका संगीत रणनीति अभियान विभाग हेर्ने माइकल किङ र समाजको तर्फबाट प्रमुख सूचना प्रविधि अधिकृत मंगेश दत्तबीच सम्झौता भएको हो । अबदेखि फेसबुक र इन्स्टाग्रामसहित मेटाका प्लेटफर्ममा नेपाली गीत प्रयोग भएको खण्डमा रोयल्टी आउने बताइएको छ ।

यो सम्झौतापछि फेसबुक र इन्स्टाग्रामका स्टोरी, टाइमलाइन, रिल्सदेखि सबै फिचरमा अपलोड हुने गीतबाट नेपाली स्रस्टाले रोयल्टी पाउँछन् ।

भारतीय म्युजिक प्लेटफर्म गाना, सावनजस्ता एपसँग पनि समाजले रोयल्टी सम्झौता गरेको छ । अप्रिलदेखि मे महिनासम्म टिकटक, स्पटीफाइ र युट्युबसँग समेत यस्तो सम्झौता हुने तयारीमा रहेको बताए ।

रोयल्टी पाउनका लागि सर्जकले रोयल्टी संकलन समाजमा गीत दर्ता गर्नुपर्नेछ ।

विश्वभर रोयल्टी संकलनका लागि नेपालबाट हस्ताक्षर भएको यो पहिलो अन्तर्राष्ट्रिय सम्झौता हो । संगीत रोयल्टी संकलन समाज नेपाल नेपालको प्रतिलिपी अधिकार कानुनअन्तर्गत स्थापना भएको गैरसरकारी र नन प्रफिट संस्था हो । यसले लेखक र रचनाकारहरूको अधिकारको संरक्षण र व्यवस्थापन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?