फिल्म लेखन: नचाहेका कि नजानेका हुन् नेपाली महिलाले?

काठमाडौं । नेपालको फिल्म बजार सानो छ भनिन्छ तर यहाँ वर्षभरिमा एक सयको हाराहारीमा फिल्म बन्छन् । तीमध्ये केही सीमित फिल्मका लेखक अरु फिल्ममा दोहोरिन्छन् । नयाँ लेखक खासै आउँदैनन् यो क्षेत्रमा ।

जो दोहोरिन्छन् या जन्मिन्छन्, उनीहरुमा पनि धेरै पुरुष लेखक नै हुन्छन् । महिला लेखकको उपस्थिति निकै कम हुन्छ । फिल्म लेखनमा महिलाको उपस्थिति शून्यजस्तै छ ।

त्यसो त साहित्य क्षेत्रमा पनि पुरुषको तुलनामा महिला लेखक कम छन् । अझ त्यसमाथि फिल्म लेखनमा त महिलाको उपस्थिति एकदमै पातलो छ । स्किृप्ट बुझेका पुस्ता पनि फिल्म लेख्नमा खासै चासो देखाउँदैनन् ।

फिल्म निर्देशनमा भने केही महिला फिल्मकर्मी जमेका छन् ।

‘ए मेरो हजुर २’ बाट फिल्म निर्देशनको यात्रा थालेकी झरना थापाले आफ्नो नायिकाको परिचयलाई निर्देशनसँगै फेरेकी छिन् । उनी निर्देशक त बनिन् तर फिल्म लेख्ने आँट गर्न सकिनन् । झरना दोस्रो फिल्ममा पनि अरुले लेखेको कथालाई निर्देशन गर्दैछिन् ।

नेपालको परिवेशमा त के पनि छ भने फिल्म लेखक ‘पब्लिक फिगर’ बन्न सक्दैनन् । बरु साहित्यकारलाई पाठकले चिन्छन् तर स्क्रिप्ट लेखकलाई सीमित समूहले मात्र चिन्छन् ।

नेपालमा औँलामा गन्न सकिने केही महिला स्क्रिप्ट लेखकबाहेक अरु लेखक छैनन् भन्दा पनि फरक पर्दैन । उपन्यास ‘आवरण’ र केही फिल्मका स्क्रिप्ट लेखेकी जया ओझाले नेपाली फिल्म लेखनमा महिला लेखक कम हुनुको कारण फिल्मकर्मीले महिलाप्रति देखाउने विश्वासलाई लिन्छिन् । महिला लेखकको सङ्ख्या राम्रै भएपनि फिल्म लेखनमा महिलाको सङ्ख्या कम भएको उनी बताउँछिन् ।

‘यो क्षेत्रमा महिला धेरै नै हुनुहुन्छ, धेरैलाई हिरोइन बन्ने चाहना छ, त्यसैले पनि उहाँहरुले लेखनलाई खासै महत्त्व नदिनुभएको होला’, ओझा थप्छिन्, ‘फिल्म लेखन प्राविधिक रुपमा पनि गाह्रो काम हो, साहित्यभन्दा फिल्म लेखन गाह्रो छ तर पैसा छैन ।’

फिल्म ‘छक्का पञ्जा’ निर्देशन गरेर चर्चामा आएकी दीपाश्री निरौलाको पहिलो फिल्म दर्शकले रुचाए । पहिलो फिल्मबाटै उनलाई सफल निर्देशकका रुपमा हेर्न थालियो । झण्डै एक दशक हास्य टेलिश्रङ्खला ‘तीतो सत्य’ मा काम गरेकी दीपाश्री निरौलाले फिल्मको स्क्रिप्ट लेखेकी छैनन् ।

यो क्षेत्रमा महिला धेरै नै हुनुहुन्छ, धेरैलाई हिरोइन बन्ने चाहना छ, त्यसैले पनि उहाँहरुले लेखनलाई खासै महत्त्व नदिनुभएको होला ।

निरौलाका अनुुसार फिल्म लेखनको काम त्यति सजिलो काम होइन । यो निकै जटिल र कल्पनाशील विषय पनि हो ।

‘महिला लेखक पनि फिल्म लेखनमा आउनुपर्ने हो, तर त्यस्तो देखिँदैन, हुन त अहिले कामको हिसाबमा महिला र पुरुष भन्ने हुँदैन’, उनी थप्छिन्, ‘फिल्म लेखनमा महिला लेखक आउँदै नआउनुभएको भन्ने होइन, तर एकदमै कम हुनुहुन्छ, यसको कारण महिला आफै कमजोर सक्षम हुनुभएन ।’

‘फिल्म लेखनमा खासै पैसा नभएर पनि महिला लेखक आउन नखोज्नुभएको होला ।’, निरौला थप्छिन् ।

फिल्म लेख्दै आएका सामीप्यराज तिमल्सिनाको पनि तर्क उस्तै छ ।

फिल्म पत्रकार समेत रहेका सामीप्यराज तिमल्सिना फिल्म लेखन गाह्रो काम भएको बताउँछन् । लेखनमा महिला या पुरुष भन्ने नभएपनि कामको हिसाबले फिल्म लेखन केही गाह्रो र प्राविधिक रुपमा पनि बुझ्नुपर्ने विषय भएको उनको तर्क छ ।

अझ अर्को कुरा त यो क्षेत्रमा खासै सम्मान पनि छैन, न त आर्थिक रुपमा नै राम्रो छ, त्यसैले महिलाको उपस्थिति अलि कम भएको हुनसक्छ ।

‘नेपालमा पुरुष लेखकको तुलनामा महिला लेखकको सङ्ख्या कम छ, क्रियटिभ मान्छेले मात्र फिल्म लेख्न सक्छ, प्राविधिक रुपमा पनि फिल्म बुझ्नुपर्ने हुन्छ, उनी थप्छन्, ‘अझ अर्को कुरा त यो क्षेत्रमा खासै सम्मान पनि छैन, न त आर्थिक रुपमा नै राम्रो छ, त्यसैले महिलाको उपस्थिति अलि कम भएको हुनसक्छ ।’

त्यसो त नेपाली सिनेमाले कथाको खोजी गर्न थालेको धेरै भएको छैन । केही दशकअघि दुई/चार विदेशी फिल्म हेरेर फिल्मको कथा तयार पारिने ट्रेन्ड पनि थियो । तर, अहिले भने फिल्ममा मौलिकताको खोजी हुन थालेको छ । खेस्राबाट सूत्रमा गएको नेपाली फिल्म बिस्तारै मौलाउने अवस्थामा छ । फिल्म लेखनका पनि पनि कार्यशाला गरिने र यसबारेमा बुझाइने हो भने महिला लेखकलाई पनि फिल्म क्षेत्रमा स्थापित गर्न सकिने सम्भावना भएको लेखकहरू बताउँछन् ।

केही फिल्म लेखेकी जया ओझा भन्छिन्, ‘धेरैलाई त फिल्म कसरी लेख्ने भन्ने पनि थाहा छैन, फिल्म लेखनका कार्यशाला हुने हो भने महिला लेखक पनि यो क्षेत्रमा आउन सक्नुहुन्छ झैं लाग्छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?