काठमाडौं। जारी फिफा विश्वकप फूटबल अन्तर्गतको शुक्रबारबाट क्वार्टरफाइनलको खेल शुरु हुने भएको छ ।
रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमने—सामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
यता फ्रान्सले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले हराउँदै अन्तिम आठमा पुगेको थियो । यता उरुग्वे र फ्रान्स विश्वकपका पूर्वविजेता समेत हुन् ।
क्वार्टरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकका विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्यो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।
यही असार २३ गते शनिबार राति ७ः४५ बजे तेस्रो क्वार्टरफाइनल खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११ः४५ बजे आयोजक राष्ट्र रसिया र क्रोएसिया आमने—सामने हुनेछ ।
उक्त खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया