‘पियारी’पछि जोसेफ र अस्मिताको ‘रुप्स्या काली’ सार्वजनिक (भिडियो)

लोकपथ
217
Shares

काठमाडौं । चर्चित गीत ‘पियारी’पछि जोसेफ शाही ठकुरीको ‘रुप्स्या काली’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका बीच शाहीको आफ्नै युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लोक फ्युजन शैलीको गीतमा जासेफलाई महिला आवाजमा अस्मिता अधिकारीले साथ दिएकी छिन् । सुदूर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट शब्द प्रयोग गरिएको गीतको शब्द र सङ्गीत समेत गायक शाहीले नै तयार गरेका हुन् । गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गरेका हुन् भने ध्वनि सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गौरव गिरीको निर्देशनमा तयार भएको भिडियोमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बसन्त कुवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडियो मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको हो ।

सहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउँदै एकोहोरो पछ्याएको कथावस्तु गीतमा छ । गीत मायाप्रेमकै भए पनि केही भिन्न तरिकाले प्रस्तुत गरिएको बताउँछन् गायक जोसेफ शाही ठकुरी ।

‘मायाप्रेमकै कन्सेप्ट भए पनि अलि फरक किसिमले प्रस्तुत गरेका छौँ, मिहिनेत पनि गरेका छौँ’, उनले भने ‘भिडियो हेरिसकेपछि दर्शक श्रोतहरुले नै बुझ्नुहुनेछ ।’

यसअघि उनको देउडा शैलीको गीत ‘पियारी’ निकै रुचाइएको थियो । त्यसले पनि उनलाई अझ राम्रो गर्नुपर्ने जिम्मेवारी छ । लोक शैलीको रोमान्टिक गीत रुप्स्या कालीलाई पनि आम स्रोता/दर्शकले मन पराउने अपेक्षा लिएको शाहीले बताए ।

‘पियारीले पाएको सफलता र त्यहाँबाट मैले पाएको हौसला अनि दर्शकश्रोताले मलाई गर्नुभएको विश्वासलाई अलिकति पनि कमी हुन नदिई म लगायत हाम्रो टिमले मिहिनेत गरेको छ’, उनले भने, ‘अब मैले हजुरहरुलाई सुप्पिसकेको छु, जस्तो लागे पनि सुनेर, हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विस्वास छ ।’

गीतको भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?