बेल्जियमले उपाधि दाबेदार ब्राजिललाई चुनौती दिँदै

रसिया । फुटबलको महाकुम्भ फिफा विश्वकपको २१ औं संस्करण यति बेला रसियामा चलिरहेको छ । प्रि—क्वार्टफाइनलको समिकरण सकिएसँगै आजबाट क्वार्टरफाइनलको खेल शुरु हुँदैछ ।

पाँच पटकको विश्व च्याम्पियन तथा उपाधि दाबेदार मानिएको ब्राजिलले ‘डार्क हर्स’ बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । काजान स्टेडियममा हुने दोस्रो क्वार्टरफाइन खेल नेपाली समयअनुसार आजराति पौने १२ बजेपछि शुरु हुँदैछ । 

जारी प्रतियोगितामा उत्कृष्ठ नजिता ल्याई रहेको ब्राजिल अहिले राम्रो फर्ममा रहेको छ । आजराति हुने खेलमा ब्राजिलले बेल्जियमलाई दबावमा राख्दै खेल आफ्नो पक्षमा पार्ने मनोस्थितीका साथ मैदानमा उत्रने बताइएको छ । पूर्व विश्व च्याम्पियन टिमहरु प्रतियोगिताबाट बाहिरिरहेको बेला ब्राजिल भने एक पछि अर्को खेलमा जित दर्ता गराउँदै आइरहेको छ । 

यता समूह चरणको तीनवटै खेलमा जित दर्ता गराउँदै अन्तिम १६ मा प्रवेश गरेको बेल्जियम जारी विश्वकपमा अपराजित छ । प्रि—क्वार्टरफाइनल खेलमा एशियाली राष्ट्र जापानलाई ३—२ ले पन्छयाउँदै बेल्जियम अन्तिम आठमा पुगको हो । त्यसैले आजरातिको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै ब्राजिललाई हराउने बेल्जियमको रणनीति रहेको छ । 

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले चोटमुक्त हुँदै मैदानमा तीन महिनापछि फर्कंदा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा शानदार गोल गरेका थिए । त्यो गोल र उनको पुनरागमन वास्तवमै दमदार थियो ।

त्यसैले उनलाई विश्वकपको गोल्डेन बुटको अवार्डसँगै ठूला स्टार खेलाडी बन्न सक्ने अनुमान गरिएको थियो । तर उनको प्रर्दशन विश्वकपमा खासै चित्तबुझ्दो छैन । अहिलेसम्म खेलेका पाँच खेलमा नेयमरको प्रदर्शन उनको क्षमताअनुसार देखिएको छैन ।

उनको ध्यान खेलेरै जित्नेभन्दा पनि बढी नै कलाकारिता जस्तो देखिएको छ । त्यसैले आजराति हुने खेलमा उनको ध्यान खेलमा बढि गए त्यसको सिधै फाइदा ब्राजिली टिमलाई हुनेछ । 
समूह चरणको खेलमा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो ।

समूह चरणको खेलमा ब्राजिलले दुईमा जित र एकमा बराबरी गर्दै ७ अंकका साथ अघिल्लो चरणमा पुगेको थियो । त्यस्तै, प्रि—क्वार्टरफाइनल खेलमा मेक्सिकोलाई २—० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

 ब्राजिली टिममा नेयमारसँगै गाव्रियल जेसस, फिलिप काउटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो र थियागो सिल्भा जस्ता प्रतिभावान तथा अनुभवि खेलाडीहरु छन् भने यता बेल्जियममा इडेन हर्जाड, रोमेलु लुकाकु, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिज जस्ता क्षमतावान खेलाडीले भरिपूर्ण टिम छ ।

त्यस्तै, आजराति हुने यि दुई टिमविचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने खेल विश्लेषकहरुको अनुमान रहेको छ । 

विश्वकप इतिहासमा सन् १९८६ मा चौथो भएको बेल्जियम त्यसपछि क्वार्टरफाइनलबाट माथि जान सकेको छैन । सन् २०१४ को ब्राजिल विश्वकममा भने बल्जियम क्वार्टरफाइनलमा पराजित हुँदै घर फर्किएको थियो । त्यसैले बेल्जियम ब्राजिलविरुद्धको खेलमा जित दर्ता गराउँदै स्वर्णिम अक्षरले इतिहास लेख्ने दाउँमा रहेको छ ।

 यता ब्राजिल भने छैटौं पटक विश्वकप जित्ने अभियानमा छ । सन् १९९० यता क्वार्टरफाइनलमा पुगेको ब्राजिल विश्वकपको उपाधि जित्ने सपनालाई साकार पार्न चाहन्छ । अहिलेसम्म ब्राजिल र बेल्जियम एक पटकमात्र भिडेका छन् । जसमा ब्राजिलले बेल्जियमलाई २—० गोलले हराएको थियो ।

सन् २००२ मा भएको खेलमा दुवै टिम आमने—सामने भएयता पहिलो पटक भिड्दै छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?