अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोसँगै टिम जारी विश्वकपबाट बाहिरिपछि उनीहरुका प्रशंसक मात्र नभएर केही कम्पनीहरु पनि दुःखी छन् ।
मेस्सी र रोनाल्डो ‘गोल्डेन बल’ का विजेता मात्र नभएर विश्वमा नै सर्वाधिक धेरै कमाइ गर्ने खेलाडीमा पर्छन् । उनीहरुले गर्ने कमाइको माध्यम खेलसँगै प्रायोजन पनि हो ।
विश्व फुटबल खेलको इतिहासमा एडिडास र नाइकलाई ‘प्रायोजकका राजा’ का रुपमा मान्दै आइरहेको छ । जारी फिफा विश्वकपमा जस्तो प्रतियोगिताले उनीहरुलाई आफ्नो ब्राण्डलाई बलियो बनाउने र कमाइ बढाउने मौका दिन्छ । उनीहरु कुनै मूल्यमा यस्तो मौका गुमाउन चाहँदैनन् ।
यस्तो प्रतियोगिता उनीहरुका लागि फाइदाको सम्झौता हुने गर्छ । ब्राजिलको एक बजार सल्लाहकार अमीर सोमोगी भन्छन्, ‘एडिडास र नाइकको रणनीति नै जित्न सक्ने टिम र खेलाडीहरुसँग आफुलाई जोड्नु हुन्छ, उनीहरु आफ्नो कम्पनीको नाम विजेताको टिमसँग जोड्न चाहन्छन् । यसले मात्र उनीहरु धेरै भन्दा धेरै फाइदा उठाउन सक्छन्।’
एडिडास ब्राण्डले मेस्सी र उनको टिम अर्जेन्टिनालाई प्रायोजन गर्छ भने यता नाइकले रोनाल्डो र उनको टिम पोर्चुगललाई प्रायोजन गर्छ । उनीहरुले लगाउने जर्सीमा यी कम्पनीहरुको लोगो हुन्छ ।
टिमको जीत र हारमा कम्पनीलाई पुग्ने फाइदा
खेलाडीहरुको राम्रो प्रदर्शन र टीमको जीत हारको सम्बन्ध सिधा कम्पनीको कमाइसँग जोडिएको हुन्छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा टीमले गरेको राम्रो प्रदर्शनको सिधा फाइदा यी दुई कम्पनीहरुलाई पुगेको थियो ।
एडिडासले त्यो वर्ष २ खर्ब ७४ अर्ब ४४ करोड रुपैयाको बिक्री गरेको थियो । यता नाइकले त्यही समय आफ्नो आम्दानीमा २३% ले बढोत्तरी गरेको घोषणा ग–यो ।
ब्राजिलमा भएको विश्वकपको दौरान दुवै कम्पनीबीच प्रायोजनको होड चलेको थियो । ३२ मा १२ टिमहरुलाई नाइक र अन्य १० टीमलाई एडिडासले प्रायोजन गरेको थियो । तथापी यी खेलहरुमा सबैभन्दा बढी फाइदा जर्मनीको एक कम्पनीले उठायो । उक्त कम्पनीले फिफा विश्वकपको आधिकारिक प्रयोजन गरेको थियो ।
प्रायोजनका लागि होड
सन् २०१४ मा एडिडासले प्रायोजन गरेका टीमहरु अर्जेन्टिना र जर्मनीले फाइनल भिडेका थिए । फाइनल खेलमा सन् १९९८ पछि तेस्रो पटक एडिडासले प्रायोजन गरेको टिम विजयी भयो ।
यता नाइकले प्रायोजन गरेको टीम ब्राजिल भने सन् २००२ मा विश्वविजेता भएको थियो ।
फुटबलसँग जोडिएको एक अन्तर्राष्ट्रिय संस्थानको गरेको अध्ययन अनुसार यो वर्ष भइरहेको फिफा विश्वकपमा शिर्ष २ सय खेलाडीहरु मध्ये १३२ जनाले नाइकको ‘फुटबल सुज’ लगाएका छन् भने ५९ जनाले एडिडासको ‘फुटबल सुज’ लगाएर मैदानमा खेलिरहेका छन् ।
प्रायोजनका लागि कति खर्च गर्छन् कम्पनीहरु?
नाइकले फ्रान्सको फुटबल फेडरेशनसँग करिब ५ अर्ब ४८ करोड रुपैयाको सम्झौता गरेको छ । यो सम्झौता सन् २०२६ सम्म फ्रान्सका खेलाडीहरुको जर्सीको लागि गरिएको हो । कम्पनीले इंग्ल्याण्ड र ब्राजिलसँग पनि यस्तै खालको सम्झौता गरेको छ । तर ब्राजिलसँगको सम्झौता फ्रान्ससँगको भन्दा केही करोड बढी रहेको छ ।
अर्को तर्फ एडिडासले जर्मनीको टिमलाई ६ अर्ब ३५ करोड रुपैयाँ दिन्छ भने स्पेनलाई लगभग ५ अर्ब १५ करोड रुपैयाँ दिन्छ । त्यस्तै अर्जेन्टिनालाई १ अर्ब २० करोड दिने गर्छ ।
जर्मनीको टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । एडिडासको लागि यो कुनै खराब समाचार भन्दा कम थिएन ।
एक जर्सीको औसत मुल्य करीब ७ हजार २ सय रुपैयाँ पर्छ । यो वर्ष मेस्सी र रोनाल्डो प्रतियोगिताबाट छिट्टै बाहिरिनु कम्पनीको लागि झट्टा भएर आएको छ । यसले बिक्रि र ब्राण्डलाई प्रभावित गर्न सक्छ ।
एक फुटबलसम्बन्धी सस्थानका अनुसार नाइकले रोनाल्डोसँग मात्रै उनको जीवनभरको लागि १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँको अनुबन्ध गरेको छ ।
–एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया