नारायण र रेज्शालाई स्वर्ण पदक

काठमाडौं। नारायण घिमिरे र रेज्शा खोतेजाले तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको टेबलटेनिसतर्फ शुक्रबार स्वर्ण पदक जितेका छन् । 

दुवै काठमाडौं विश्वविद्यालय ‘केयू’ का हुन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा नारायणले केयूकै टेन्डी शेर्पालाई ११–७, ११–९, १०–१२, ११–५, ४–११, ८–११ र ११–६ को सेटमा पराजित गरे ।

महिला फाइनलमा रेज्शाले आफ्नै विश्वविद्यालयकी नम्रता ढकाललाई १–११, ५–११, ११–८, १३–११ र ११–५ को सेटमा हराइन् ।

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ द्वारा आयोजित प्रतियोगितामा नारायण र रेज्शाले आ–आफ्नो साथीसंग मिलेर डबल्समा पनि स्वर्ण हात पारे ।

फाइनलमा नारायण र टेन्डीको जोडीले त्रिभूवन विश्वविद्यालय ‘टीयू’ का करण राई र सन्दिप भुर्तेलको जोडीलाई ९–११, ११–८, ११–३ र ११–६ ले पाखा लगाए । रेज्शा र नम्रताको जोडीले केयूका ज्योति खनाल र सिजा अर्यालको जोडीलाई ११–८, ११–८ र ११–६ को सीधा सेटमा फाइनलमा पन्छ्याउदै स्वर्ण जिते ।

विजेतालाई राखेपका सदस्य सुदिल शाही, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?